काठमाडाैं। जापानमा अघिल्लो साता आएको ७.१ म्याग्निट्यूडको भूकम्पले निकै कम मात्रै क्षति पुर्यायो। भूकम्प आइरहने जापानमा यो पटकको भूकम्प केही फरक थियो। उक्त भूकम्प आउनुभन्दा केही समयअघि चेतावनी जारी गरिएको थियो।
जापानको मौसम सम्बन्धी निकायले “ठूलो भूकम्पको” जोखिम बढेको बताएको थियो। त्यसपछि जापानका प्रधानमन्त्रीले यो साताका लागि तय गरिएको मध्य एशियाको पूर्व निर्धारित एउटा भ्रमण स्थगित गरेका थिए। जापानमा धेरैले “निकै ठूलो” भूकम्प जाने सोचेका थिए। उनीहरूले चेतावनी जारी गरेको भूकम्प एक शताब्दीमा एक पटक आउने किसिमको हुन सक्ने ठानेका थिए।
निकै खराब अवस्था भए ३,००,००० जना भन्दा धेरैको ज्यान जाने र ३० मिटरसम्म पानीको छाल विकास भएर पूर्वी एशियामा प्रशान्त महासागरको तटीय क्षेत्रसम्म सुनामी आउन सक्ने पूर्वानुमान गरिएका थिए। त्यो आफैँमा डरलाग्दो थियो।
मासायो ओशियो पनि यसबाट निकै दोधारमा परेकी थिइन्। "सुरक्षा निर्देशिकाका कारण म अलमलमा परेकी थिएँ र के गर्ने भन्ने थाहा थिएन,” राजधानी टोकियोभन्दा दक्षिणमा पर्ने योकोहामास्थित आफ्नो घरबाट उनले बीबीसीसँग भनिन्।
“हामीलाई भूकम्पको पूर्वानुमान गर्न सकिँदैन भन्ने थाहा थियो। तर ठूलो भूकम्प आउँदै छ भनियो। त्यस कारण मैले आफैँलाई प्रश्न गरिरहेकी थिएँ। तर त्यो मेरो लागि वास्तविक जस्तो लागेन,” उनले भनिन्।
त्यसो भए “ठूलो भूकम्प” के हो, के त्यसको पूर्वानुमान गर्न सकिन्छ र वा त्यो निकट भविष्यमा आउँदै छ भन्न सकिन्छ?
जापान रिङ अफ फायर भनिने भूकम्प जोखिम क्षेत्रमा अवस्थित भएका कारण यो देशमा भूकम्पलाई सामान्य रूपमा लिने गरिन्छ। जापानमा एक वर्षभरिमा सरदर १,५०० वटा सानाठूला भूकम्प मापन हुने गर्छन्।
अधिकांश भूकम्पले निकै कम मात्रै क्षति पुर्याउँछन्। तर कुनै कुनैले ठूलो विनाश निम्त्याउँछन्। सन् २०११ मा मापन भएको ९ म्याग्निट्यूडको भूकम्पले पूर्वी तटीय क्षेत्रमा सुनामी निम्त्याउँदा १८,००० जना भन्दा धेरै मानिसहरूको मृत्यु भएको थियो।
अधिकारीहरू ठूलो जनघनत्व भएको दक्षिणी क्षेत्रमा खराब अवस्थामा यो भन्दा पनि विनाशकारी भूकम्प आउन सक्ने जोखिमबारे चिन्तित देखिन्छन्।
जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा अवस्थित नान्काइ थ्रो क्षेत्रमा हालसम्म हजारौँ मानिसहरूको मृत्यु भइसकेको छ।
सन् १७०७ मा ६६० किलोमिटर लामो यो क्षेत्रमा धाँजा फाट्दा जापानमा अहिलेसम्मकै दोस्रो ठूलो भूकम्प मापन भएको थियो। उक्त भूकम्पका कारण माउन्ट फुजीमा समेत ज्वालामुखी विस्फोट भएको थियो।
मेगा थ्रस्ट भनिने यस्ता ठूला भूकम्पहरू प्रत्येक १०० वर्ष वा त्यसको आसपासमा सँगसँगै दुई पटक आउने गर्छन्। पछिल्लो पटक यस्ता भूकम्प सन् १९४४ र १९४६ मा देखा परेका थिए।
विज्ञहरूका अनुसार आगामी ३० वर्षभित्रको अवधिमा उक्त क्षेत्रमा ८ वा ९ म्याग्निट्यूडका भूकम्प आउने सम्भावना ७० देखि ८० प्रतिशतसम्म रहेको बताउँछन्। यस्ता भूकम्पले निकै क्षति पुर्याएको अवस्थामा खर्बौँको भौतिक क्षति र सयौँ मानिसहरूको ज्यान लिन सक्ने आकलन गरिएको छ।
यसअघि ठूलो भूकम्पको चेतावनी जारी गरिँदा मानिसहरूले एक शताब्दीको अन्तरालमा आउने साँच्चिकै ठूलो भूकम्प ठानेको भूगर्भविद् काइल ब्राड्ली र जुडिथ ए हबर्ड बताउँछन्।
"नान्काइमा ठूला भूकम्पको इतिहास निकै डरलाग्दो छ र चिन्ताजनक पनि," उनीहरूले आफ्नो न्यूजलेटरमा हालै उल्लेख गरेका छन्।
टोकियो विश्वविद्यालयमा भूगर्भसम्बन्धी अध्यापन गर्ने प्राध्यापक रोबर्ट गेलर भूकम्पको पूर्वानुमान हुनेमा विश्वास गर्दैनन्।
उनी जापानमा पछिल्लो भूकम्पअघि जारी गरिएको चेतावनी पनि विज्ञानसम्मत नरहेको दाबी गर्छन्।
उनी भूकम्पको पूर्वकम्प र पराकम्पका आधारमा भूकम्प आउँदै छ भन्न नसकिने बताउँछन्।
ब्राड्ली र हबर्डका अनुसार जम्मा ५ प्रतिशत भूकम्प ठूलो भूकम्पका पूर्वकम्प हुन्छन्।
यद्यपि जापानमा सन् २०११ को भूकम्प अघि ७.२ म्याग्निट्यूडको पूर्पकम्प आएको थियो। उनीहरूका अनुसार त्यसलाई बेवास्ता गरिएको थियो।
त्यसपछि भूकम्पको क्षति कम गर्ने उद्देश्यले चेतावनी प्रणाली विकास गरिएको थियो। गत बिहीवार जापानको मौसमसम्बन्धी निकायले पहिलो पटक त्यसको प्रयोग गर्यो।
उक्त निकायले मानिसहरूलाई भूकम्प सामना गर्न तयार रहन भने पनि मानिसहरूलाई सुरक्षित ठाउँमा लैजान भनेन। वास्तवमै जापानले ठूलो क्षति कम गर्न चाहेको भने देखियो।
"नयाँ ठूलो भूकम्पको सम्भावना साधारण भन्दा धेरै छर तर यो ठूलो भूकम्प आउँछ नै भन्ने सङ्केत चाहिँ होइन," उक्त निकायले भनेको छ।
त्यति हुँदा हुँदै पनि जापानका प्रधानमन्त्री फुमिओ किसिदाले देश बाहिर जाने योजना स्थगित गर्दै "तयारी तथा सञ्चार सुनिश्चित र व्यवस्थित गर्न" आफूले उक्त निर्णय लिएको बताए।
उनले पहिलो पटक यस्तो चेतावनी जारी गरिएका कारण मानिसहरूमा चिन्ता बढ्ने डर आफूलाई लागेको बताएका थिए।
मासायो ओशियोलाई प्रधानमन्त्रीले भने जस्तो चिन्ता चाहिँ लागेको थिएन।
“मलाई त सरकारले यसलाई चाहिने भन्दा बढी प्रचार गरेको जस्तो लाग्यो,” उनले भनिन्।
प्राध्यापक गेलर सरकारले जारी गरेको चेतावनी “काम नलाग्ने सूचना” भएको बताउँछन्।
यो प्रणालीले सावधानीका लागि सूचना वा चेतावनी जारी गर्न सहयोग पुग्छ। बिहीवार सावधानी मात्रै जारी गरिएको थियो र मानिसहरूलाई सुरक्षित ठाउँमा जानका लागि तयारी अवस्थामा रहन भनिएको थियो।
उदाहरणका रूपमा लिने हो भने त्यसले काम गरेको देखियो। मानिसहरूले आफ्नो मोबाइलमा यसअघि पनि चेतावनीका सन्देश पाइरहने गरेका भए पनि 'नान्काइ थ्रो' र 'ठूलो' दुई शब्दले मानिसहरूको ध्यानाकर्षण गरायो।
“चेतावनी देखेपछि मैले घरमा भएका आवश्यक सामग्रीहरू जाँच गरे र हामी तयार भएको पक्का गरेँ किनभने यस्तो जाँच मैले केही समयदेखि गरेको थिइनँ,” मासायो ओशियोले भनिन्।
उनको जस्तै तयारी प्रशान्त महासागरको तटीय क्षेत्रमा बस्ने धेरैले गरे।
बिहीवार आएको भूकम्पको केन्द्रबिन्दु नजिकैको निचिनानमा अधिकारीहरूले यसअघि नै तयार पारिएका मानिसहरूलाई उद्धार गरेर राखिने स्थानहरूको अवस्था जाँच गरिरहेका थिए।
जापानको पश्चिमी कोची प्रिफेक्चरमा १० वटा नगरपालिकाले ७५ वटा उद्धार केन्द्रहरू स्थापना गरेको क्योदो समाचार संस्थाले जनाएको छ।
कुरोसियो र कोचीमा ज्येष्ठ नागरिकहरू सहित अन्यलाई आफैँ सुरक्षित ठाउँमा गएर बस्न भनिएको थियो।
स्थानीय सरकारहरूले उद्धारका मार्गहरू र ऊर्जा उत्पादकहरूले विपद्का समयमा इन्धन र ऊर्जाको आपूर्तिका लागि वैकल्पिक योजना बनाएका थिए।
प्राध्यापक गेलर जुनसुकै अवस्थामा पनि पूर्व सावधानीका नियमित कामहरू गर्नु पर्ने बताउँछन्।
"एक हप्तासम्म पुग्ने पानी खानेकुरा, बट्टामा नसड्ने कानेकुरा र उज्यालो बाल्नका लागि ब्याट्री राख्नुपर्छ," उनको सुझाव छ।