राजदूत नियुक्त गरेर पोर्चुगलमा रहेका नेपालीमाथि सरकारले न्याय गर्‍यो : गङ्गाबहादुर नेमकुल, अभियन्ता

राजदूत नियुक्त गरेर पोर्चुगलमा रहेका नेपालीमाथि सरकारले न्याय गर्‍यो : गङ्गाबहादुर नेमकुल, अभियन्ता

लामो समयदेखि समाजसेवामा सक्रिय रहेका गङ्गाबहादुर नेमकुल २०१६ यता पोर्चुगलमा रहँदै आएका छन् । २०१९ यता उनले सुरु गरेको पोर्चुगलमा नेपाली दूतावास भन्ने अभियानले यतिबेला मूर्त रूप पाएको छ । अर्थात् नेपाल सरकारले पोर्चुगलमा राजदूतावास स्थापना गर्ने निर्णय गरी राजदूत नियुक्त समेत गरेको छ । यो अभियानका क्रममा के कस्ता समस्या आए ? नेपालमा रहेका राजनीतिक दल र अभियन्ताहरूबाट कस्तो व्यवहार भयो ? यी यावत विषयमा नेमकुलसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

लामो समयदेखि पोर्चुगलमा राजदूतावास स्थापना गर्ने अभियान चलाउनुभएको थियो । अहिले सरकारले तपाईँहरूको माग पुरा गरेको छ । यो यात्रालाई कसरी सम्झनुहुन्छ ?

म २०१६ मा पोर्चुगल आएको थिए । त्यतिवेला यहाँको समस्याबारे म त्यति जानकार थिइन । तर जब २०१९ मा कोभिडको महामारी सुरु भयो, त्यो बेला नेपालीहरूले यहाँ धेरै दुःख पाएको देखे । राजदूतावास नै नभएकोले गभर्मेन्ट टु गभर्मेन्ट सम्बन्ध हुने कुरै भएन । त्यसकारण पनि पोर्चुगलको सरकारले नेपाली नागरिकलाई त्यति ध्यान दिएन । यो प्रकरणपछि यहाँ नेपाली दूतावास चाहिने रहेछ भन्ने आभास मलाई भयो । 

भनेपछि कोरोना कालमा त्यहाँ नेपालीहरूले धेरै दु:ख पाए ?

हो । त्यतिबेला नेपालीहरूले यहाँ धेरै दुःख पाए । सङ्क्रमित नेपालीलाई  अस्पतालले राम्रोसँग उपचार समेत गरिदिएन । यहाँ रहेर समाजसेवा  गर्ने वातावरण समेत नभएपछि म नेपाल फर्किएको थिए । त्यही बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने अवसर पाएको थिए । सो भेटमा मैले पोर्चुगलमा नेपाली दूतावास नहुदा परेको समस्याबारे जानकारी गराएको थिए ।

पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान, परराष्ट्र मन्त्रालयका सचिव लगायतको टिमसँग मैले २०७८ साल भदौ ३० गते बुधबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई यो समस्या अवगत गराएको थिए । त्यतिवेला उहाँले समस्या समाधानमा चासो देखाउनुभयो । परराष्ट्र मन्त्रालयलाई यस विषयमा अध्ययन गर्न निर्देशन दिनुभयो । र अहिले सरकारी तवरबाटै पोर्चुगलमा दूतावास स्थापनाको निर्णय भइ राजदूत नियुक्ति गर्ने काम भएको छ । 

यो अभियानमा को कसको साथ पाउनुभयो ?

मेरो यो अभियानमा सबै राजनीतिक दलका नेताहरूले साथ दिनुभयो । काँग्रेस नेता भीमसेनदास प्रधानसँगै माओवादी केन्द्रका तत्कालीन प्रदेश विभाग प्रमुख परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले पनि मेरो अपिल पत्रमा हस्ताक्षर नै गरेर पूर्ण रूपमा मलाई साथ दिनुभयो । त्यसैगरी नेकपा एकीकृत समाजवादीका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जसपा नेपालका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतलाई मैले पोर्चुगलमा राजदूतावास आवश्यक रहेको विषयमा जानकारी गराएको थिए । उहाँहरूले पनि दूतावास स्थापनाको लागि सकारात्मक पहल गर्नुभयो । उहाँहरूको साथ सहयोगले आज दूतावास स्थापनाको काम अघि बढेको छ । सरकारले पोर्चुगलमा रहेका नेपालीमाथि न्याय गरेको छ । 

यसअघि सरकारले नियुक्त गरेको राजदूत त पोर्चुगल आउनै पाउनुभएन । अहिलेका राजदूत आउनेमा कत्तिको ढुक्क हुनुहुन्छ ?

पहिलो चरणमा नियुक्त हुनुभएका सनिल नेपाल आफैँमा सक्षम हुनुहुन्थ्यो । यद्यपि संसदीय सुनुवाइको क्रममा सरकार परिवर्तन हुँदा उहाँ पोर्चुगल आउन पाउनुभएन । उहाँ अहिले स्पेनको लागि राजदूत नियुक्त हुनुभएको छ । तर अब दोस्रो पटक  नियुक्त हुनुभएका प्रकाशमणि पौडेल आफैमा परराष्ट्र नीतिको जानकार हुनुहुन्छ । उहाँबाट पोर्चुगलमा भएका नेपाली धेरै लाभान्वित हुने मैले आसा लिएको छ । 

अहिले पोर्चुगलमा रहेको कन्सुलर पनि बन्द भएको छ । यसबाट के कस्तो असर परेको छ ?

पक्कै पनि अचानक कन्सुलर बन्द हुँदा नेपालीहरू समस्यामा परेका छन् । यसको समाधान छिटो भन्दा छिटो दूतावास सञ्चालनमा ल्याउनु नै हो । यो बिचमा नोटरी गरेर भए पनि समस्या समाधान गर्नुपर्छ । पुलिस रिपोर्टमा पनि नोटरीलाई मान्यता दिनुपर्छ । यसमा फ्रान्समा रहेको दूतावासले पनि सहयोग गर्न आवश्यक छ । 

अन्त्यमा के भन्नुहुन्छ ?

पोर्चुगलमा तीन वर्ष यता कार्डका निम्ति फिङ्गर प्रिन्ट कुरेका झण्डै १० हजार नेपाली रहेका छन् । उनीहरुको पुलिस रिपोर्टले पनि मान्यता पाएको छैन । तत्कालका लागि यो समस्या समाधानका लागि फ्रान्समा रहेको दूतावासले ध्यान दिनुपर्छ ।