काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।
डेंगीको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले गत वर्ष पनि डेंगी रोगको संक्रमण बढेपछि अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले आ–आफ्ना कार्यालयमा डेंगी संक्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।
प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेंगीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिए । मन्त्रालयले सरकारी अस्पताललाई डेंगी संक्रमितको उपचार व्यवस्थापन मिलाउन आग्रह गर्दै ‘डेंगी डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ ।
प्रवक्ता डा बुढाथोकीले स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेंगी संक्रमण नियन्त्रण गर्न नसकिने उल्लेख गरे । प्रदेश र स्थानीय तहका सबै निकायको सहयोग आवश्यक रहेको उनले बताए । यो वर्ष ७३ जिल्लाका दुई हजार ३६५ जनामा डेंगी संक्रमण र एकजनाको मृत्यु भएको छ ।