काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा काठमाडौं महानगरपालिका ७, चाबहिल निवासी वरिष्ठ अधिवक्ता रमेश बडाललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेको शीतलनिवासबाट जारी सूचनामा उल्लेख छ।
सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको कार्यकालको अन्त्यतिर पनि बडाललाई महान्यायाधिवक्ता बनाएका थिए।
बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलोपटक महान्यायाधिवक्ता नियुक्त भएका थिए। तर सर्वोच्च अदालतको परमादेशले ओली सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि बडालले पनि राजीनामा दिएका थिए। २०७८ असार २९ गते राजीनामा दिएका बडालले पहिलो कार्यकालमा करिब चार महिना मात्रै काम गर्न पाएका थिए।
बडाल हालको सत्ता गठबन्धन निर्माणका क्रममा पनि सक्रिय थिए। असार १७ गते राति काठमाडौँको चपलीमा कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्नेबारे सहमति गर्दा पनि बडाल उपस्थित थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई बनाउने तयारी गरेका छन्। ओलीका तर्फबाट रिमालले काम थालिसकेका छन्। यद्यपि, उनको औपचारिक नियुक्ति भएको जानकारी सार्वजनिक गरिएको छैन।
प्रमुख सल्लाहकार तथा सल्लाहकारको नियुक्ति मन्त्रिपरिषद्बाट हुन्छ।