ओलीसँग काम गर्न सहज नहुने भारतको निष्कर्ष !

ओलीसँग काम गर्न सहज नहुने भारतको निष्कर्ष !

काठमाडौँ । नेपालका लागि पूर्वभारतीय राजदूतरञ्जित रेले यसअघिको अनुभवका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतलाई काम गर्न सहज नहुने टिप्पणी गरेका छन् । ओलीले भारतविरोधी राष्ट्रियतालाई प्रयोग गरेर नेपालको राजनीतिमा आफ्नो स्थान बलियो बनाउने गरेको उनको स्मरण गरेका हुन् । 

द इकोनोमिक टाइम्समा एक लेख लेख्दै उनले विभिन्न राजनीतिक रङका बाबजुद भारतले नेपालका सबै सरकारसँग सुमधुर सम्बन्ध कायम राख्नुपर्ने बताए । उनले पूर्णरुपमा वामपन्थी सरकार बन्नुको साटो सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुनु भारतका लागि उपयुक्त भएको पनि जिकिर गरेका छन् ।

‘सबैभन्दा ठुला दलको रूपमा कांग्रेसले ओलीको निरङ्कुश आवेग र उनले लिने एकपक्षीय निर्णयमा ब्रेकको रूपमा काम गर्न सक्छ,’ रेले आफ्नो आलेखमा भनेका छन् । यसअघिको ओली सरकारका पालामा चीनसँग व्यापार, पारवहन र कनेक्टिभिटीबारे सम्झौताहरू भएको र नेपाल र भारतबिचको सीमा समस्या बल्झिएको उनले बताएका छन् । नयाँ सरकारले चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाहरुलाई कसरी अघि बढाउँछ भन्ने पनि प्रतीक्षाको विषय भएको रेको भनाई छ ।

त्यस्तै, रेले भारतले नेपालमा बढ्दो अमेरिका र चीनबिचको द्वन्द्वलाई पनि सावधानीपूर्वक निगरानी गर्नुपर्ने सुझाएका छन् । वर्तमान समीकरणमा भारतको हात नरहेको लेखमार्फत उनले प्रष्ट्याउने प्रयास गरेका छन् ।