सिमलताल पहिरो: १३ जनाको शव भेटियो, ५ वटाको सनाखत हुन बाँकी

सिमलताल पहिरो: १३ जनाको शव भेटियो, ५ वटाको सनाखत हुन बाँकी

काठमाडौं । बस दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता भएकामध्ये हालसम्म १३ जनाको शव भेटिएको छ।

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार सोमबार दिउँसो २ बजेसम्म विभिन्न स्थानमा १३ जनाको शव भेटिएको हो। तीमध्ये ८ जनाको सनाखत भएको र पाँच जनाको बाँकी रहेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सनाखत हुन बाँकी रहेकामा ४ पुरुष र एक महिला छन्। गत शुक्रबार बिहान ३ बजे वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६-ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा त्रिशुलीमा खसेका थिए।

पछिल्लो अपडेट अनुसार एन्जल बसमा ३८ जना र गणपति डिलक्समा २७ जना गरी ६५ यात्रु रहेको प्रहरीको भनाइ छ। यो संख्या बसको चलानमा उल्लेख भएका र आफन्तहरु आएर दिएको विवरणका आधारमा अध्यावधिक गरिएको डिएसपी थापाले बताए। गणपति डिलक्समा सवार रौतहटका नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता गरी ३ जना पौडिएर बाँच्न सफल भएका थिए।