परीक्षामा चिट खोसेको भन्दै उपप्राध्यापकमाथि कुटपिट

परीक्षामा चिट खोसेको भन्दै उपप्राध्यापकमाथि कुटपिट

विराटनगर । परीक्षामा चिट खोसेकै कारण एक वर्षपछि उपप्राध्यापकलाई अभद्र व्यवहार गर्दै कुटपिट गर्नेलाई कारबाही गर्न विराटनगरस्थित मोरङ क्याम्पसका विद्यार्थी र प्राध्यापकहरूले माग गरेका छन्।

गत २८ साउन २०८० मा मोरङ क्याम्पसमा सञ्चालन भएको मानविकी संकाय बिए दोस्रो वर्षको परीक्षामा चिट चोरेको देखेपछि खोस्ने उपप्रध्यापक अर्जुन तामाङलाई एक वर्षपछि २७ असारमा कार्यकक्षमै गएर गालीगलौज गर्दै कुटपिट गर्ने विद्यार्थीहरू रिंकु चौधरी र माधव पासवानलगायतलाई विद्यार्थी र प्राध्यापक संगठनले कारबाही गर्न माग गरेका हुन्।

उक्त परीक्षामा पर्यवेक्षक रहेका उपप्राध्यापक तामाङले विद्यार्थीले चिट चोरेको देखेपछि खोसेका थिए। परीक्षामा चिट चोर्ने विद्यार्थी फेल भएकी थिइन्। तामाङले चिट चार्न नदिएकै कारण आफ्नो संगठनको विद्यार्थी फेल भएको भन्दै अनेरास्ववियुकी नेतृ रिंकु चौधरी र अखिलकै क्याम्पस इकाइ अध्यक्ष माधव पासवानको समूहले कार्यकक्षमै पुगेर गत आइतबार उपप्राध्यापकमाथि कुटपिट गरेको थियो। 

एक वर्षअघि चिट खोसेकै कारण कार्यकक्षमै गएर कुटपिट गर्ने कार्य निन्दनीय मात्र नभएर अनैतिक र गैरकानुनीसमेत भएको भन्दै नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियू समाजवादी, स्वतन्त्र विद्यार्थी मञ्च, नागरिक विद्यार्थी समाज, अखिल समाजवादी ९विप्लव० र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन्। घटनामा संलग्नलाई कानुनी र प्रशासनिक कारबाही गर्न उनीहरूको माग छ।

परीक्षालाई मर्यादित बनाउन चिट चोर्न नदिएकै कारण एक  वर्षपछि कार्यकक्षमै अभद्र व्यवहार र कुटपिट भएपछि महेन्द्र मोरङ क्याम्पसमा शिक्षाशास्त्रको कार्यक्रम संयोजकसमेत रहेका उपप्राध्यापक तामाङले राजीनामा दिएका छन्।