काठमाडौं । शुक्रबार बिहानदेखि त्रिशूली नदीमा हराइरहेका दुई वटा यात्रुबाहक बस र झण्डै ६० यात्रुको खोजी आज पनि बिहानैदेखि सुरु भएको छ ।
भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट बेपत्ता भएका बस र यात्रु नभेटिएपछि खोजी कार्य बिहानदेखि सुरु भएको हो । खोजी कार्यको लागि नेपाली सेना र सशस्त्र प्रहरीका गोताखोर तथा नेपाल प्रहरी गरि पाँच सय बढी सुरक्षाकर्मी निरन्तर खटिएका छन् ।आजदेखि घटनास्थल र तल तिर सबै सम्भावित स्थानसँगै देवघाटमा समेत खोजी कार्य सुरु गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।आजबाट ठुलो चुम्बकको प्रयोग गरिने भएको छ ।
पश्चिम चितवनको भरतपुर महानगरपालिका-२८ मा एक पुरुषको शव भेटिएको छ । नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०/३५ वर्षको पुरुषको शव फेला परेको हो ।
शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइटा बसहरु त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरु मध्ये कुनै एक जना यात्रुको शव हुन सक्ने आशंका गरिएको छ । शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ ।
हिजो शनिवार गोलाघाटमा १ र गैंडाकोटको थुम्सी नजिकै २ जनाको शव भेटिएको थियो । भेटिएका तीन वटै शवको सनाखत भइसकेको छ । उनीहरु मध्ये २ जना गणपति डिलक्सका र एक जना एन्जल डिलक्सका यात्रु हुन् ।