बाढीपहिरोबाट देशभर १३२ सडकखण्डमा  यातायात अवरुद्ध

बाढीपहिरोबाट देशभर १३२ सडकखण्डमा  यातायात अवरुद्ध

काठमाडौँ । बाढीपहिरोले देशभरि १३२ सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा ११९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन्।

विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बिपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल (मध्य पहाडी) राजमार्गलगायत ११९ सडकखण्डमा एकतर्फी रुपमा यातायात सञ्चालन भएको छ।  डुम्रे–बेँशीशहर–चामे, विराटनगर–इटरी(धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्ण अवरुद्ध छन्। जल तथा मौसम विज्ञान विभागले आगामी शनिवारसम्म मुलुकभर वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको उच्च जोखिम रहेको जनाएको छ। 

विभागका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ ९नेपालको दक्षिण भूभाग(सिमाना आसपास० रहेको तथा उक्त रेखा अझ नेपालतर्फ सरेकाले आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित भएको छ। 

यी दुवै प्रणालीको प्रभावले शनिवारसम्म नै नेपालमा मनसुन सक्रिय हुने सम्भावना छ। देशभर साधारणतया दली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमासमेत मुसलधारे वर्षाको सम्भावना छ। 

भूक्षय, पहिरो तथा गेग्रानको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्नसक्ने भन्दै सतर्कता अपनाउन प्रवक्ता पोखरेलले आग्रह गरेका छन्। दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन विभागले अनुरोध गरेको छ।