सात दिनमा ७१ जनामा डेंगी संक्रमण

सात दिनमा ७१ जनामा डेंगी संक्रमण

काठमाडौं । सन् २०२४ को जुलाईका सात दिनमा (१ देखि ७ सम्म) देशभर ७१ जना डेंगी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार जुनयता संक्रमण बढेको हो । 

जुनमा सबैभन्दा धेरै ३१७ संक्रमित थपिएका छन् । त्यसअघिका महिनामा संक्रमितको संख्या तीन सय कटेको थिएन । जनवरीयता ७ जुलाईसम्म देशभर एक हजार ४८३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । 

यस वर्ष (सन् २०२४)मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५०५ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १६५ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । 

यस्तै, झापामा १२३, चितवनमा ८३, मकवानपुरमा ६५, तनहुँमा ५२, ओखलढुंगामा ५० जनामा डेंगी पुष्टि भएको छ ।  यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।