काठमाडाैं। सन् १९९७ मा सोफिआ गटिकाको शान्त जीवनमा एउटा भयानक घटना आइपर्दा उनी मध्य आर्जेन्टिनाको एउटा सानो गाउँमा बस्ने गर्थिन्। संसार त्याग्दा छोरी न्यान्डी तीन दिनकी मात्र थिइन्।
उनको मिर्गौलामा समस्या रहेको थाहा पाउनासाथ चिकित्सकहरूले शल्यक्रिया थालिहालेका थिए। तर उनलाई बचाउन भने असफल भए। “अन्ततः तीन दिनपछि उनलाई चिकित्सकहरूले म सामु ल्याए र भने, ‘तपाईँकी छोरी लिनुहोस्’ - एक तरिकाले उनीहरूले मलाई जबरजस्ती नै हातमा राखिदिए," गत वर्ष एक अन्तर्वार्ताका क्रममा उनले बीबीसीलाई भनिन्।
"उनीहरूले छोरीलाई मेरो अंगालोमा छोडे। मैले उनलाई समातेँ। उनको शरिर तातो थियो, तर उनी जिवित थिइनन्," सोफिआ सम्झन्छिन्।
“मलाई अझै यसबारे कुरा गर्न कठिन हुन्छ…मैले उनलाई घर लिएर गएँ र समाधिस्थ गरेँ।”
सन् १९९० को दशकको अन्त्यतिर स्पेनको कोर्दोबा क्षेत्रको बाहिरी भेगमा पर्ने इतुसाइङ्गो नगरमा क्यान्सर, श्वासप्रश्वास रोगका घटना र बाल मृत्युदर नाटकीय रूपमा बढ्न थाल्यो।
“मैले आफ्नो ब्लकका हरेक घर ढक्ढक्याउँदै छिमेकीका घरमा कति मानिस बिरामी छन् र उनीहरूमा कस्तो रोग छ भनेर सोध्न थालेँ," सोफिआले सुनाइन्।
जस क्रममा उनले उक्त नगरमा धेरै साना बच्चाले ज्यान गुमाएको वा परिवारका कोही सदस्यमा क्यान्सर देखा परेको थाहा पाइन्।
“एउटा ब्लकमा त मैले पाँच वा छजना बालबालिकाको मृत्यु भएको थाहा पाएँ।"
त्यसको कारण खोज्ने व्यग्रताले उनको सक्रियता झन् धेरै बढ्यो।
सोफिआको नेतृत्वमा त्यस ठाउँका १६ जना महिलाले ‘मदर्स अफ इतुसाइङ्गो' नामको आमा समूहको गठन गरे।
सो समूहले स्थानीय मृत्युका घटनालाई एक-एक गरेर केलाउने क्रममा एउटा साझा प्रवृत्ति देखियो: सोयाबिन्स अर्थात् भटमास।
इतुसाइङ्गोका बासिन्दा र आसपासका सहरमा भटमासको बाली लगाइएको थियो जहाँ किसानहरूले झार मार्न ग्लाइफोसेटजस्ता रसायनहरू प्रयोग गर्ने गर्थे।
अमेरिकी संस्थान मोनसान्टोले सन् १९७० मा विकास गरेको ग्लाइफोसेट संसारभर झार मार्न व्यापक रूपमा प्रयोग हुन्छ।
आजकल ग्लाइफोसेटलाई कैयौँ कम्पनीहरूले उत्पादन गर्छन् र अमेरिका र युरोपसहित संसारभरका नियामकहरूले सुरक्षित रहेको भन्दै स्वीकृति प्रदान गर्ने गर्छन्।
यद्यपि यसको प्रयोग अझै विवादित छ।
सन् २०१५ मा विश्व स्वास्थ्य सङ्गठनको क्यान्सर अध्ययन गर्ने निकायले ग्लाइफोसेटले मानिसहरूमा सम्भवतः कार्सिनोजेनिक (क्यान्सर गराउन सक्ने) भएको निष्कर्ष निकालेको थियो।
यद्यपि अमेरिकाको वातावरण सुरक्षा निकायले राम्रोसँग प्रयोग गर्दा उक्त रसायन सुरक्षित रहेको जनाएको छ।
युरोपेली खाद्य सुरक्षा निकाय ईएफएसएले समेत ग्लाइफोसेटले मानिसलाई क्यान्सर गराउने सम्भावना नरहेको जनाउँछ।
आनुवंशिक रूपमा परिमार्जन हुने सोया ग्लाइफोसेट प्रतिरोधी हुन्छ। त्यसैले यसलाई बालीमा लगाइँदा त्यसले सोयाको बिरुवालाई नभईकन झारलाई मात्र मार्छ।
जसले गर्दा आनुवंशिक रूपमा परिमार्जन गरिएका बालीहरूलाई कम हर्बिसाइड (झार मार्ने रसायन) भए पुग्नु पर्ने हो तर झारहरूमा प्रतिरोधक क्षमता बढ्न थालेपछि झन धेरै मात्रामा झार मार्ने रसायनहरू प्रयोगमा आए।
इतुसाइङ्गोमा धेरै त्यस्ता रसायन छर्किएका थिए। र हावामा उडेर उक्त रसायन जताततै फैलिन पुग्यो।
'मदर्स अफ इतुसाइङ्गो'ले पत्ता लगाए अनुसार इतुसाइङ्गोको क्यान्सर दर राष्ट्रिय औसत भन्दा ४१ गुणा बढ्ता थियो। जसमा स्नायु सम्बन्धी र श्वासप्रश्वासका रोग, जन्मजात रूपमा देखिने समस्या र शिशु मृत्युदरको घटना उच्च थिए।
युनिभर्सिटी अफ ब्वेनोस् आइरीसको एक अध्ययनले पुष्टि गरे अनुसार इतुसाइङ्गोमा देखा परेका स्वास्थ्य समस्या कीटनाशकसँगको नियमित संसर्गसँग सम्बन्धित थिए।
जबकि मलिकुलर वायोलोजीका अनुसन्धानकर्ता आन्द्रेश करास्कोले ग्लाइफोसेटले गर्भबाटै समस्या देखा पर्ने सम्भावना बढाउने पुष्टि गरेका थिए।
मोन्सान्टोले ती आरोपको जवाफ दिने क्रममा "ग्लाइफोसेटको सही प्रयोगले यी [रोग] जस्ता गम्भीर समस्याहरू निम्त्याउने कुनै प्रमाण नरहेको" जनाएको छ।
अन्ततः अधिकारीहरू त्यस ठाउँको पानी आपूर्ति प्रणालीको परीक्षण गर्न सहमत भए जस क्रममा त्यो दूषित भएको पुष्टि भयो।
"हामी दूषित ठाउँमा बसिरहेका छौँ भन्ने हामीलाई हेक्का थिएन; क्यान्सर देखा परेका कैयौँ मानिसहरूलाई के भइरहेको भन्ने थाहा थिएन।"
"हामी एउटा एग्रोकेमिकल मात्र नभईकन विभिन्न एग्रोकेमिकलहरूको मिश्रण नै लिइरहेका रहेछौँ।"
ती अभियानकर्मीहरू त्यसको प्रयोग रोक्न आफै अग्रसर भए।
सोफिआले बीबीसीलाई भनिन्: "हामीले दूषित पानी पिइरहेको थाहा पाएपछि हरेक पटक हामीले ट्र्याक्टरले विषादी छर्किरहेको देख्दा त्यहाँ गएर रोक्यौँ।"
जसकै कारण आन्दोलनकारीलाई रोक्न किसान र जग्गाधनीले विमानबाट विषादी खसाल्दै बालीमा छर्कन थाले।
सोफिआ सन् २०१८ मा झार मार्ने विषादीविरुद्ध प्रदर्शन गर्ने क्रममा कोर्डोबा प्रान्तमा पक्राउ परिन्।
वर्षौँको विरोधपछि स्थानीयबासीहरूको कमजोर स्वास्थ्य समस्याबीच कोर्डोबाका अधिकारीहरू उक्त प्रान्तमा कृषि रसायनको प्रभावका बारेमा अनुसन्धान गर्न सहमत भए।
आर्जेन्टिना आनुवंशिक रूपबाट परिमार्जित गरिएको भटमासको संसारकै एउटा ठूलो निर्यातकर्ता हो। त्यहाँ भटमासको व्यवसाय निकै ठूलो छ।
सोफिआका अनुसार त्यहाँका धेरै मानिसहरूले ती प्रदर्शनबाट त्रसित महसुस गरे।
उनका अनुसार 'मदर्स अफ इतुसाइङ्गो'का मागले सिर्जना गरेको अनुसन्धानले ज्यान मार्ने धम्कीको अवस्था सिर्जना गरायो।
"उनीहरूले मेरो घरलाई निशानामा पारे, उनीहरूले मान्छे पठाएर झ्यालहरू तोडफोड गर्न लगाउँदै हामीलाई डर त्रासमा पार्न खोजे। उनीहरूले हामी अन्यत्र जाउन् भन्ने ठानेका थिए। तर डर त्रासकैबीच हामी त्यहीँ बस्यौँ।"
तस्बिरको क्याप्शन,सोफिआ सन् २०१८ मा एक प्रदर्शनका क्रममा पक्राउ परिन्।
सन् २०१२ मा कोर्डोबाको न्यायिक प्रणालीले सहरी क्षेत्रनजिक कृषि रसायन छर्कन प्रतिबन्ध लगायो।
त्यस लगत्तै आर्जेन्टिनाका अन्य क्षेत्रहरूले समेत कृषि रसायनको प्रयोगमा प्रतिबन्ध लगाए।
र जब मोन्सान्टोले ट्रान्सजेनिक (आणुवंशिक रूपले परिमार्जित) मकैको बिउ उत्पादन गर्ने कारखाना नजिकै कोर्डोबाकै अर्को नगर माल्भिनासमा निर्माण गर्न थाल्यो त्यो समेत सोफिआ र अन्य आमाहरूकै कारण रोकियो।
मोन्सान्टोले त्यसबाट पछि हटेको भनेर कुनै औपचारिक घोषणा त गरेन तर जमिन बेचेर त्यस ठाउँ छाड्यो।
"त्यो काम हाम्रो जितसँगै अन्त्य भयो। हामीले उनीहरूलाई लखेट्यौँ। हामीले उनीहरूलाई निकाल्यौँ।"
सोही वर्ष सोफिआले 'वातावरण क्षेत्रको नोबेल' मानिने गोल्डम्यान वातावरण पुरस्कार पाइन्।
आफ्नो अभियानका कारण सोफिआलाई कैयौँ ज्यान मार्ने धम्की आए।
सन् २०१८ मा जर्मन कम्पनी बेअरले ६३ अर्ब डलरको सम्झौता गरेर मोन्सान्टो किन्यो। जसले गर्दा बेअरले विश्वमा बिउ र कीटनाशकहरूको आपूर्तिमा एक चौथाइभन्दा बढीको अधिकार पायो।
तर सन् २०२४ सम्ममा अमेरिकामा बेअरमाथि मोन्सान्टोको 'वीडकिलर राउन्डअप' ट्रेडमार्क भएको झार मार्ने रसायनको सम्बन्ध क्यान्सरसँग हुने भन्दै ५० हजार भन्दा धेरै कानुनी कारबाही भएका छन्।
हालसम्म उक्त कम्पनीले मुद्दा सुल्झाउने क्रममा ११ अर्ब डलरभन्दा बढी खर्चिसकेको छ।
"हामीकहाँ यसअघि नै उच्च क्यान्सरको दर देखा परेको छ। यदि उक्त कम्पनी यहाँ रहेको भए हामीमाझ त्यस्ता थप धेरै घटना देखा पर्ने थिए। त्यसैले हामीले जे हासिल गर्यौँ त्यो सार्वजनिक स्वास्थ्यको दृष्टिले सफलता हो," सोफिआले भनिन्।
हाल ग्लाइफोसेटमा आधारित रसायनहरू विश्वका ३६ देशमा निषेधित वा प्रतिबन्धित छन्।
सन् २०२३ को नोभेम्बरमा युरोपेली आयोगले एउटा निर्देशिका पारित गर्ने क्रममा कैयौँ देशका राष्ट्रिय कानुनका नजिरलाई आधार मानेको थियो।
जसकै आधारमा उसले १० वर्षका लागि ग्लाइफोसेटको अनुमतिपत्र नवीकरण गरेको थियो।
झण्डै तीन दशकपछि न्याय प्राप्तिको लडाइँमा सोफिआ दृढ रूपमा कायम छिन्।
"अन्यायको पक्षमा कानुनहरू हुँदा म तिनलाई मान्दिन। जब अन्याय हुन्छ तब म लड्छु।"