काठमाडाैं। इरानमा सुधारवादी नेता डा मसुद पेजेस्कियानले आफ्ना कट्टरपन्थी प्रतिद्वन्द्वी सइद जलिलीलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका छन्।
तीन करोडभन्दा धेरै मतगणना भइसक्दा पेजेस्कियानका पक्षमा ५३.३ प्रतिशत मत खसेको थियो भने जलिलीले ४४.३ प्रतिशत मत प्राप्त गरेका थिए।
यसअघिका राष्ट्रपति इब्राहिम रइसीको मे महिनामा एक हेलिकप्टर दुर्घटनामा परेर अन्य कैयौँसहित मृत्यु भएपछि नयाँ निर्वाचन भएको हो।
इरानको आन्तरिक मन्त्रालयले अन्तिम नतिजा सार्वजनिक गर्नुअघि नै डा पेजेस्कियानका समर्थकहरू तेहरानको सडकमा उत्रेर खुसीयाली मनाएका छन्।
इरानमा पहिलो चरणको निर्वाचनमा कम मतदान भए तापनि दोस्रो चरणको निर्वाचनमा त्यसभन्दा बढ्ता ५० प्रतिशत मतदान भएको थियो।
पहिलो चरणमा भने सन् १९७९ को इस्लामिक क्रान्तिपछिकै सबैभन्दा कम मतदान भएको थियो।
तर देशका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले कम मतदानको अर्थ जनताले आफ्नो शासन सत्ता अस्वीकार गर्नु नरहेको बताएका छन्।
उनले भने: “कम मतदानका कारण छन्। राजनीतिक नेता र समाजशास्त्रीले यसबारे खोजिबिन गर्नेछन् तर भोट नदिने जनतालाई सरकारको विरुद्धमा छन् भन्ने ठान्नेहरू प्रस्ट रूपमा गलत छन्।”
इरानमा राष्ट्रपतिले नभई त्यहाँका सर्वोच्च नेताले आफ्नो देशको नीतिबारे अन्तिम निर्णय लिन्छन्।
डा पेजेस्कियान ७१ वर्षका मुटुका शल्य चिकित्सक हुन्।
इरानको संसद्का एक सदस्य समेत रहेका उनी आफ्नो देशको कुख्यात नैतिकता निगरानी गर्ने प्रहरीका आलोचक हुन्।
उनले “एकता र सद्भाव”का साथै विश्वबाट इरान “एक्लिएको” अवस्थाको अन्त्य गर्ने बाचा गरेपछि त्यहाँ हलचल मच्चिएको छ।
पेजेस्कियानले यतिखेर निस्प्रभावी रहेको सन् २०१५ को परमाणु सम्झौतालाई नविकरण गर्नका लागि पश्चिमा शक्तिहरूसँग “रचनात्मक वार्ता”को आह्वान गरेका छन्।
सो सम्झौतामा पश्चिमा प्रतिबन्धलाई खुकुलो पार्ने सर्तमा इरानले आफ्नो परमाणु गतिविधि सीमित पार्ने बाचा गरेको थियो।
जबकि पेजेस्कियानका प्रतिद्वन्द्वी कट्टरपन्थी सइद जलिली यथास्थितिको पक्षमा थिए।
पूर्व परमाणु वार्ताकार समेत रहेका जलिलीलाई इरानको सबैभन्दा शक्तिशाली धार्मिक समुदायहरूमा बलियो समर्थन रहेको थियो।
पश्चिमा विरोधीको पहिचान बनाएका जलिलीले आणविक सम्झौतालाई पुनः ब्युँताउने कुराको समेत विरोध गर्दै उक्त सम्झौताले इरानको 'सीमा' नाघेको बताएका थिए।
जलिलीलाई राष्ट्रपति बन्न नदिने प्रयास स्वरूप पहिलो चरणमा मतदान नगरेकालाई दोस्रो चरणमा मतदान गर्न प्रोत्साहित गरिएको थियो।
त्यहाँ जलिलीले जितेमा पश्चिमी विश्वसँग इरानको द्वन्द्व झन् बढ्ने चिन्ता व्यक्त गरिएको थियो।
त्यसमा इरानमा उल्लेखनीय प्रभाव भएका १२ जना धर्मगुरु र न्यायविद्हरू समावेश छन्।
त्यस प्रक्रियामा केही महिलाहरूसहित अन्य ७४ जना उम्मेदवारहरू चयन गरिएको थियो।
गार्डिअन काउन्सिलले त्यहाँको शासन सत्ताप्रति वफादार नभएका उम्मेदवारहरूको नाम हटाएको भन्दै मानवाधिकार समूहहरूले आलोचना गरेका थिए।
इरानमा पछिल्ला केही वर्षमा नागरिक प्रदर्शनका कारण लगातार अशान्ति देखा परेको छ।
त्यहाँका युवा र मध्यमवर्गीय जनतामा सरकारप्रति आक्रोश छ। तिनैमध्ये ठूलो सङ्ख्यामा पछिल्लो चुनावमा पनि मतदानबाट टाढा रहेको देखिएको थियो।