शैक्षिक क्षेत्रमा गुण्डागर्दी सहिन्न, राजनीतिकरण हटाएरै छाड्छुः शिक्षा मन्त्री

शैक्षिक क्षेत्रमा गुण्डागर्दी सहिन्न, राजनीतिकरण हटाएरै छाड्छुः शिक्षा मन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छिन्। 

सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी हुन्। उनले विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भएपनि राजनीतिक दलका भातृ संगठनको हस्तक्षेपलाई अन्त्य गर्ने बताइन्।

उनले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा अन्तर्वार्ता प्रहरी राखेर गर्नुपरेको बताइन्। ‘टियुमा सेवा आयोगले नयाँ विज्ञापन खोलेको थियो। त्यो विज्ञापन गर्न पाइँदैन भनेर फेरि अर्को एउटा समूह उठेछ र तालाबन्दी गरेछ। धम्की दिएछ ।
 प्रहरीहरू राखेर अन्तर्वार्ता गर्नुपर्ने । प्रहरीहरू राखेर गर्नुपर्ने काम छ । यसमा सबैले म म गर्नुपर्ला । त्यो भ्रातृ संगठनहरु कुन राजनीतिक दलको हो भनेर । शिक्षामन्त्री गयो भने राजनीतिक हस्तक्षेप, प्रहरी गयो भने राजनीतिक हस्तक्षेप । गुण्डागर्दीको राजनीतिक हस्तक्षेप हुँदैन रु त्यसकारण यो त्यतिबेलासम्म कायम हुन्छ जुन बेलासम्म दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन । तर जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु । तर गुन्डागर्दी सहन्नँ । र दलीय राजनीतिकरण हटाएरै छोड्ने हो । जसरी भएपनि छोड्ने हो ।’

मन्त्री श्रेष्ठले एसइई परीक्षाको नतिजामा शिक्षा मन्त्रालयमात्र नभई सिङ्गो समाज नै आक्रोशित हुनुपर्ने बताइन्। उनले एसइईमा विद्यार्थी अनुत्तीर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको बताइन् । उनले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, अभिभावक, राजनीतिक व्यक्ति सबैले उत्तिकै ध्यान पुर्‍याउनुपर्ने बताइन्। मन्त्री श्रेष्ठले तालाबन्दी गरेर विद्यार्थीहरूको पढ्ने अधिकार खोस्ने प्राध्यापकलाई कारबाही गरिने पनि बतइन्।