एसईई नतिजाबारे आयो यस्तो जानकारी

एसईई नतिजाबारे आयो यस्तो जानकारी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन नहुने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसे पनि  प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । अहिले पनि त्यस्कै डेमो गरिरहेका छौं । हस्ताक्षरसहित सबै प्रक्रया पूरा गर्दा रात पर्ने भयो’, पौडेलले भने, ‘भोलि बिहान ७ बजे फेरि बोर्ड बैठक बोलाएका छौं । त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी छ ।’

१५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ ।