बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट

बुटवल। बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ।

आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८.६५ प्रतिशत र पूँजीगततर्फ ५१.३५ प्रतिशत रहने गरि २ अर्ब ९९ करोड २२ लाख बराबरको आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गरेकी हुन्।

बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिँदै पर्यटन, कृषि, पशुपंक्षी विकास, मानव संसाधनको विकासका क्षेत्रलाई प्राथमिकता दिँदै रकम बिनियोजन गरिएको छ ।

बजेटमा 'छोरी पढाऔं, समाज बनाऔं' कार्यक्रम अन्तरगत बुटवल टेक्निकल इन्स्टिच्युटसँगको सहकार्यमा ४० जना छात्राहरुलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने उल्लेख छ । यस्तै लुम्बिनी बस टर्मिनलमा विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गर्न १ करोड बजेट छुट्याइएको छ ।

त्यस्तै बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्न र आन्तरिक तथा बाह्य पर्यटक आगमनलाई वृद्धि गर्न 'बुटवल भ्रमण बर्ष'  घोषणा गर्ने उल्लेख छ ।