झाडापखाला र डेंगी संक्रमणबाट जोगिन अपनाउँ यी उपाय

झाडापखाला र डेंगी संक्रमणबाट जोगिन अपनाउँ यी उपाय

काठमाडौं । यो वर्ष सरदरभन्दा बढी वर्षा हुने र योसँगै डेंगु सक्रमण फैलन सक्ने हुँदा सतर्कता अपनाउन सरकारले अनुरोध गरिसकेको छ। पछिल्ला वर्षहरूमा वर्षातको समयमा डेंगु संक्रमण प्रकोपकै रूपमा फैलिँदै गएको छ।

विशेषगरी​एडिस जातका लामखुट्टेको (कालो-सेतो छिर्केमिर्के देखिने) टोकाईबाट सर्ने डेंगु संक्रमणबाट बच्न विशेषगरी व्यक्तिगत सजगताका साथै आफ्नो घरवरपरको सरसफाइलाई विशेष ध्यान दिनुपर्ने बताइन्छ।

घरवरपर पानी जम्नै नदिनुस्

डेंगुबाट बच्न सबभन्दा पहिला यो संक्रमण गराउने लामखुट्टेलाई फैलन नदिन आफ्नो घर वरपरको सरसफाइलाई विशेष ध्यान दिनुपर्छ।

- आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने।

- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,

- जुनसुकै बेला सुत्दा झुलको प्रयोग गर्ने बानी बसाल्ने,

- पूरै शरीर ढाक्ने लुगा लगाएर हिँड्ने बानी बसाल्नुपर्छ। यस्ता उपायहरु अपनाउन सकिए डेंगु संक्रमणबाट बच्न सकिन्छ।

यस्तै वर्षातको यो मौसममा आउने बाढी तथा भेलहरुले हाम्रो खानेपानीको मुहानहरु दुषित गराउनुका साथै हामीले खाने खानेकुराहरुलाई समेत दुषित गराउने हुँदा झाडापखाला, हैजा जस्ता पानीजन्य संक्रमणहरुको समेत जोखिम हुने हुँदा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ। त्यसैले हामीले खाने खाने पानी र व्यक्तिगत सरसफाइलाई विशेष ख्याल गर्नुपर्छ।

झाडापखाला र हैजाबाट बच्नः

- सधैँ पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउने,

- व्यक्तिगत सरसफाई (विशेष गरी हातको सरसफाई) मा ध्यान दिने,

- बासी सढेगलेका खानेकुरा नखाने,

-खानालाई छोपेर राख्ने,

- काँचै खान मिल्ने फलफूल राम्रोसँग पखालेर खाने बानी बसाल्नुपर्छ,

- तरकारीको सरसफाईलाई विशेष ध्यान पुर्‍याउनुपर्छ,

साथै खुल्ला रूपमा दिसापिसाब नगरौं, चर्पीको अनिवार्य प्रयोग गर्ने र दिसापिसाब गरिसकेपछि साबुनपानीले मिचीमिची हात धुने बानी बसाल्नुपर्छ।