मालढुंगा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द गरिने

मालढुंगा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द गरिने

पर्वत । राष्ट्रिय गौरव आयोजनाको कालीगण्डकी करिडोर अन्तर्गत पर्ने मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न शुरु भएसँगै १३ दिनसम्म गाडी सञ्चालनमा रोक लगाइने भएको छ ।

१३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा गाडी बन्द गरेर कालोपत्र गरिने जोमसोमको कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ ।

एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका गाडीबाहेक अरू गाडीले भोलिदेखि आउँदो असार २० गतेसम्म वैकल्पिक मार्ग प्रयोग गर्नुपर्नेछ । मौसम अनुकूल भएमा १३ दिनमा कालोपत्रको काम पूरा हुने छ ।

यो सडक स्तरोन्नतिका लागि २०७७ चैतमा संयुक्त लगानीको एपेक्स–खड्का–कृष्णले ५२ करोड ८६ लाख रुपैयाँमा सडक विभागसँग सम्झौता गरेको थियो । झन्डै छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ ।