करिब एक अर्ब ठगी आरोपमा कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना प्रहरीद्वारा सार्वजनिक

करिब एक अर्ब ठगी आरोपमा कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना प्रहरीद्वारा सार्वजनिक

काठमाडौं । नेपाल प्रहरीले सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाइ वचतकर्ताहरुको अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा सहकारीकी व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा छन् । अध्यक्ष तेजविक्रम थापा नेपाली कांग्रेस तनहुँका नेतासमेत हुन् ।

४३ वर्षीय थापा २०५६ सालदेखि यो सहकारीको चिफ एकाउन्टेन्ट र संस्थापक सदस्य रहेको बताइएको छ । उनले अस्पताल, टेलिभिजनलगायत अन्य विभिन्न व्यवसायिक कम्पनीमा समेत हात हालेको अनुसन्धानबाट खुलेको छ । उनी बैंकिङ कसुरका ५ वटा मुद्दामासमेत कसुर ठहर भई फरारको सूचीमा थिए ।

उपत्यका अपराध महाशाखाको टोलीले उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । ललितपुरको कुमारीपाटीमा रहेको यो सहकारीको नाम संसदीय छानबिन गर्न बनेको समितिको कार्यादेश (टीओआर) मा पनि उल्लेख गरिएको छ । समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका २९ सहकारी संस्थाको सूचीमा उक्त सहकारीको नाम रहेको छ ।

५६६ जना बचतकर्ताको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । २ अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीमा ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरूको साथबाट मोबाइल, पेन ड्राइभ, केही चेक, गाडी र गोर्खा टीभीको परिचयपत्रलगायतका सामान बरामद गरेको छ ।