रोचक कार्यक्रम आगामी बजेटमा

रोचक कार्यक्रम आगामी बजेटमा

काठमाडौं- धनुषाको जनकपुरलाई विवाह गन्तव्य अर्थात् वेडिङ हबका रुपमा विकसित गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेटमा सो व्यवस्था प्रस्ताव गरिएको हो ।

मिथिलाका राजा जनककी छोरी सिताको विवाह अयोध्यका रामसंग भएको थियो । जनकपुरधामको यही महत्व र गरिमाका साथै ऐेतिहासिक सांस्कृतिक पहिचानलाई अन्तराष्ट्रियस्तरमा पुर्‍याउन यो व्यवस्था गरिएको हो । मिथिला संस्कृतिको वैभव जनकपुरधाम नेपालकै एक प्रसिद्ध गन्तव्य स्थान मानिन्छ ।

यसैगरी लुम्बिीनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको छ । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ । भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनी नेपालको मात्र नभएर विश्वकै निम्ति एक पूण्यभूमि मानिन्छ ।

राजा शुद्धोधनका सुपुत्रका रुपमा बुद्धको जन्म भएको थियो । विशेषगरी संसारभरिका बौद्धधर्मावलम्वीहरुको पवित्र तिर्थस्थलका रुपमा लुम्विनी परिचित छ ।

सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गर्ने योजना बनाएको छ ।

प्रदेश तथा स्थानीय तहको सहकार्यमा रुकुम र सल्यानको शारदा नदी आसपासका क्षेत्रलाई कृषि करिडोर, जुम्लाको हिमा नदी र तिला नदी आसपासका क्षेत्रलाई मार्सी धान करिडोर, बाराको कोल्वीदेखि सिम्रौनगढ सडक आसापासका क्षेत्रलाई माछा करिडोरका रुपमा विकास गरिने बजेटमा उल्लेख छ ।

सरकारले आगामी आर्थिक वर्षलाई ‘महिला लगानी वर्ष’का रुपमा पनि मनाउने घोषणा गरेको छ । महिला उद्यमीलाई प्रवर्द्धन गर्न ‘कोसेली घर’ स्थापना गरिने छ । सरकारले ‘प्रधानमन्त्री छोरी कार्यक्रम’ का लागि १० करोड विनियोजन गरेको छ । ‘युवा महिला राष्ट्रिय महिला’ कार्यक्रम आयोजना अघि सार्ने बजेट वक्तव्यमा उल्लेख छ ।