ईभीमा बढ्यो कर

ईभीमा बढ्यो कर

काठमाडौं। सरकारले विद्युतीय गाडी (ईभी) मा कर बढाएको छ। ईभीको अन्तःशुल्क र भन्सार दरमा परिवर्तन गरेको हो। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा ईभीको कर बढाएका हुन्।

१० सिटयुक्त ईभीमा अनएसेम्बल्ड र अन्यमा १० प्रतिशतबाट १५ प्रतिशत भन्सार पुर्‍याइएको छ। सोही प्रकारका ईभीमा अन्तःशुल्क पनि अनएसेम्बल्ड र अन्य दुवै प्रकारमा ५ प्रतिशत लगाउने भएको छ । यसमा यसअघि अन्तःशुल्क लगाइएको थिएन।

५० किलोवाटसम्मको मोटर भएका ईभीमा पनि भन्सार बढाइएको छ भने अन्तःशुल्क लगाइने छ। उक्त मोटर क्षमता भएको ईभीमा १० प्रतिशत रहेको भन्सार महसुल १५ प्रतिशत पुर्‍याइएको छ।

५० किलोवाटसम्म क्षमता भएका ईभीमा ५ प्रतिशत अन्तःशुल्क पनि लगाइने भएको हो । यसअघि अन्तःशुल्क लगाइएको थिएन ।

५० देखि १०० किलोवाट मोटर क्षमता भएका ईभीमा भन्सार र अन्तःशुल्क दुईमा समान ५ प्रतिशतले बढाइएको छ । उक्त क्षमताका ईभीमा अनएसेम्बल्ड अन्तःशुल्क नलाग्ने व्यवस्था रहेकोमा अब १५ प्रतिशत लाग्ने भएको छ । सोही क्षमताका अन्य ईभीमा १० प्रतिशत रहेको अन्तःशुल्क १५ प्रतिशत पुग्दा उक्त क्षमताका अनएसेम्बल्ड र अन्य दुवैमा भन्सार १५ प्रतिशतबाट २० प्रतिशत पुर्‍याइएको छ ।

१०० देखि २०० किलोवाट क्षमतायुक्त ईभीमा भन्सार १० प्रतिशतले बढ्दा अन्तःशुल्क भने यथावत राखिएको छ । उक्त मोटर क्षमताको अनएसेम्बल्ड ईभीमा यसअघि अन्तःशुल्क नचलाए पनि अब २० प्रतिशत लाग्ने भएको छ भने तयारी भएर पैठारी हुनेको अन्तःशुल्क २० प्रतिशत नै यथावत छ ।

तर, १०० देखि २०० किलोवाट मोटर क्षमतायुक्त ईभीको भन्सार महसुल भने २० बाट ३० प्रतिशत पुगेको हो । बढेको भन्सार अनएसेम्बल्ड र अन्य दुवैका लागि हो ।