बैतडी । जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। नौ महिनादेखि अतिरिक्त सेवा र बिदामा काम गरेबापतको रकम नपाएपछि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन्।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक(पटक पत्राचार गर्दा चासो नदेखाएकाले दबाव स्वरूप डाक्टरहरू आज (आइतबार)देखि आकस्मिक बाहेकका सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन्।
महिनौँ हुँदा समेत काम गरेको रकम नपाउँदा बाध्य भएर आन्दोलित हुनुपरेको अस्पताल बैतडीका डाक्टर हरीशचन्द्र विष्टले बताए। उनले भने‚ ‘विरामीको सेवामा अहोरात्र खटिदा समेत मन्त्रालयले रकम भुक्तानी गरेन।’
विगत ९ महिनादेखि अतिरिक्त भत्ता, सार्वजनिक बिदामा काम गरेबापतको भत्ता र प्रयोगशालामा काम गरेबापतको जोखिम भत्ताको रकम भुक्तानी नदिएको विरोधमा आन्दोलनरत चिकित्सकले आइतबारदेखि सेवा ठप्प पारेका हुन्। उनीहरूले पाउनुपर्ने भत्ता रकम ९६ घण्टाभित्र भुक्तानी नभएमा आकस्मिकबाहेकका सेवा दिन असमर्थ रहने भन्दै अल्टिमेटम दिएका थिए।
बुधबार दिएको आन्दोलनको ९६ घण्टे अल्टिमेटम शनिबार सकिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई गत पुसदेखि भत्ता रकम निकासाका लागि बारम्बार पत्राचार गर्दा पनि कुनै सुनुवाइ नभएको चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको आरोप छ।
डाक्टर बाहेक जिल्ला अस्पतालका अन्य कर्मचारीहरूले समेत अतिरिक्त सेवाबापतको रकम पाउन नसकेको जिल्ला अस्पताल बैतडीका डाक्टर धीरज जैसवालले बताए। उनले भने‚ ‘हामीले विगतदेखि रकम भुक्तानीका लागि माग गरेका हौँ तर मन्त्रालयले माग सम्बोधन गरेन। बाध्य भएर आन्दोलन गर्न पुगेका छौँ।’
आफ्नो माग पूरा नभएसम्म बहिरंग सेवा सञ्चालन नगर्ने डाक्टर तथा कर्मचारीहरूको अडान छ।
जिल्ला अस्पतालका अख्तियार प्राप्त मेडिकल सुपरिडेन्ट र अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोही समस्या समाधानका लागि मन्त्रालयमा धाइरहेका छन् तर मन्त्रालय भने मौन छ।
मन्त्रालयको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत समस्या समाधान नभएकाले आफूहरू धनगढीमै रहेको जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताइन्। डाक्टर र अस्पतालका कर्मचारीको टोलीले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन्।
प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नागरिकलाई अप्ठ्यारो हुने काम नगर्न आग्रह गरेका छन्। शर्माले भने, ‘तपाईंहरूका मागका बारेमा सम्बन्धित निकायमा कुरा भइसकेको छ। समस्या समाधान होला, बिरामीलाई मर्का पर्ने काम गर्नु भएन।’
स्वास्थ्य सेवा नियमावलीअनुसार सातामा ४० घण्टाभन्दा बढी काम गरेमा र सार्वजनिक बिदामा काम गरेको अवस्थामा अतिरिक्त भत्ता पाउने व्यवस्था छ। मेडिकल अधिकृतको हकमा सम्बन्धितले पाउने मासिक तलबअनुसार ८ घण्टा अतिरिक्त काम गरेमा दैनिक १ हजार ६ सय भत्ता दिने व्यवस्था रहेको छ।
यसैबीच जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। हरीशचन्द्र बिष्टले आफू जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्। चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेको आन्दोलनमा समर्थन जनाउँदै उनले निमित्त मेसुको जिम्मेवारी छोडेका हुन्।