फेरि हिँडेर काठमाडौँ आउँदै मिटरब्याज पीडित, ११ दिनमा कञ्चनपुरबाट बुटवल आए

फेरि हिँडेर काठमाडौँ आउँदै मिटरब्याज पीडित, ११ दिनमा कञ्चनपुरबाट बुटवल आए

बुटवल । आफूहरुले न्याय पाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गर्न सुदूरपश्चिमको कञ्चनपुरबाट संघर्षपूर्ण पैदलयात्रामा निस्किएका मिटरब्याज पीडितहरु ११ औँ दिन शुक्रबार बुटवल आइपुगेका छन् । पीडितहरुले सुदूर पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकैदिन काठमाडौंका लागि पैदलयात्रा थालेका थिए ।

सुदूरपश्चिमको टोली कर्णाली पार गरेर ११ औँ दिन बुटवल आइपुगेको हो । उनीहरुले कञ्चनपुरको महेन्द्ननगरबाट माघ १६ गते पैदलयात्रा थालेका थिए । सरकारले मिटरब्याज पीडितलाई न्याय दिन नसकेको, आयोग गठन गरेपनि आयोगको निर्णय कार्यान्वयन हुन नसकेको र राज्यबाटै पीडितहरु थप पीडित बनेको भन्दै संघर्ष समिति नै गठन गरेर उनीहरु पैदलयात्रामा निस्किएका हुन् ।

पश्चिमबाट आइरहेको यो टोलीलाई संघर्ष समितिका केन्द्रीय प्रवक्ता निर्ग नविनले नेतृत्व गरेका छन् । टोलीमा करिब ७० जना मिटरब्याज पीडितहरु सहभागी छन् ।

मिटरब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति नै गठन गरेका उनीहरुको पूर्वको टोलीलाई अध्यक्ष अबधेश कुशवाहले नेतृत्व गरेका छन् । पूर्व र पश्चिमबाट एकैपटक ‘मेची, महाकाली, काठमाडौँ न्याय मार्च’ थालिएको प्रवक्ता निर्ग नवीनले बताए । दुवै टोली फागुन १ गते चितवन पुगेर संयुक्त पैदलयात्रा गर्दै काठमाडौं पुग्ने उनले बताए ।

उनीहरु शुक्रबारै बुटवलबाट नवलपरासीतर्फ लागेका छन् । शनिबार नवलपरासीको बर्दघाटमा विरोध सभा हुने र त्यसपछि टोली चितवनका लागि प्रस्थान गर्नेछ । ‘वर्षभरि खेती किसानी र मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुको गरिबी र कमजोरीहरुको फाइदा उठाउँदै बित्तिय संस्था र साहु महाजनहरुले वर्षौंदेखि ठग्दै आइरहेका छन्,’ उनले भने, ‘राज्यले पीडितहरुको पहिचान, छानविन गरेर न्यायदिने भनेपनि त्यसको प्रभावकारी कार्यान्वयन नभएपछि हामी सरकारको ध्यानाकर्षण गराउन पैदलयात्रामा निस्किएका हौं ।’