प्रचण्ड र देउवाबिच विवाद भएलगत्तै विश्वप्रकाश पुगे बालकोट, केपी ओलीसँग के भयो छलफल ?

प्रचण्ड र देउवाबिच विवाद भएलगत्तै विश्वप्रकाश पुगे बालकोट, केपी ओलीसँग के भयो छलफल ?

काठमाडौं । आज बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबिच चर्को विवाद भयो । लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भेटे । यो भेटले नेपाली राजनीतिमा तरंग ल्याएको छ ।

उनले बालकोटस्थित निवासमा पुगेर ओलीसँग भेटेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । भेटका क्रममा उनीहरुबीच शान्ति प्रक्रियाका बाँकी विषयलाई टुंग्याउने लगायतका विषयमा छलफल भएको शर्माले उल्लेख गरेका छन् ।

उनले भिन्न पृष्ठभूमि र आस्था भएर पनि आफूहरु सँगै उभिँदा शान्ति र संविधान प्राप्त भएको उल्लेख गर्दै अबको सहकार्यले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नुपर्ने बताए ।

‘भिन्न पृष्ठभूमि र भिन्न आस्था भएर पनि जब हामी ‘एक ठाँउमा’ उभिएका थियौं, तब सहकार्यको मार्गबाट देशले शान्ति र संविधान प्राप्त गरेको थियो’, शर्माले लेखेका छन्, ‘सहकार्यको अबको चरणले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नुछ, संविधानप्रति अपनत्वको दायरा बढाउनुछ र समुन्नतिको यात्रामा गति बढाउनुछ ।’

दोस्रो जनआन्दोलनका सहयात्रीहरुले देशको साझा कार्यभार पूरा गर्न साझा दृष्टि तय गर्नुपर्ने तथा अर्कोतर्फ त्यो दृष्टिमा नयाँ दलहरुलाई पनि सँगै सहकार्यमा गाँसेर अघि बढ्नुपर्ने आवश्यकता शर्माले औंल्याएका छन् । उनले जे जस्ता प्रतिक्रिया दिए पनि भेटमा कांग्रेस एमाले सहकार्यको विषयमा समेत छलफल भएको स्रोतको दाबी छ । 

बालकुमारी प्रकरणलाई लिएर प्रचण्ड र देउवाबिच चर्काचर्की, गठबन्धन धरापमा