बालकुमारी प्रकरणलाई लिएर प्रचण्ड र देउवाबिच चर्काचर्की, गठबन्धन धरापमा

बालकुमारी प्रकरणलाई लिएर प्रचण्ड र देउवाबिच चर्काचर्की, गठबन्धन धरापमा

काठमाडौं । दुई जनाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनामा जिम्मेवार रहेको भन्दै सरकारले केही प्रहरी अधिकारी निलम्बन गर्न खोज्दा गठबन्धन दल कांग्रेस बिच्किएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले निलम्बन गर्दा प्रहरीको मनोबल खस्कने भन्दै निलम्बन नगर्न प्रचण्डलाई  चेतावनी दिए ।

प्रहरीलाई कारबाही गर्न नहुने अडान लिएपछि बालुवाटारमा आज भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग देउवाको चर्काचर्की परेको थियो । बालकुमारीमा गम्भीर सुरक्षा लापरवाही भएको र त्यहाँको कमाण्डको जिम्मेवारीमा खटिएका प्रहरी नायब उपरीक्षक उमेश लम्सालसहितका प्रहरी अधिकारीहरुलाई कारवाही गर्न लागेको जानकारी दिनासाथ देउवा झोँक्किएका थिए ।

स्रोतका अनुसार देउवाले प्रहरीलाई कारवाही गर्न नहुने अडान लिएपछि प्रधानमन्त्री प्रचण्डसमेत झोक्किँदा केहीबेर बैठक असामान्यजस्तै बनेको थियो ।

सरकारको काममा पटक–पटक हस्तक्षेप गरेको तथा घटनामा संलग्नलाई कारवाहीको दायरामा नल्याए सरकारमाथि प्रश्न उठ्ने भन्दै प्रधानमन्त्री प्रचण्डले देउवालाई कारवाही रोक्ने भए सरकार आफैँ चलाउन जवाफ फर्काए ।

प्रधानमन्त्रीले त्यसो भनिरहँदा देउवा पनि चर्किएपछि परिस्थिति असामान्य बनेको थियो । बैठकमा सहभागी स्रोतका अनुसार परिस्थिति असामान्य बनेपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कांग्रेस नेता रमेश लेखकले बैठकबाट देउवालाई अर्को कोठामा लगेका थिए ।

सरकारको निरन्तरता प्रधानमन्त्री प्रचण्डलाई भन्दा कांग्रेसलाई बढी महत्वपूर्ण रहेको भन्दै देउवालाई केहीबेर खड्का र लेखकले सम्झाएका थिए ।

यता प्रधानमन्त्री प्रचण्डले भने हरेकजसो काममा देउवाले हस्तक्षेप गरेको भन्दै सरकार, गठबन्धन जे–जे गए पनि जाओस् तर सरकार मूकदर्शक भएर बस्न मिल्दैन भन्ने अडान लिएका थिए ।

केहीबेरपछि पुनः बैठक कोठामा प्रवेश गरेका देउवा केही नबोली बाहिरिएका थिए । देउवा र प्रचण्डबिच देखिएको विवादले गठबन्धनको आयुलाई लिएर अनेक आशंका गरिएको छ ।