चिसिदैं मधेश, जनजीवन प्रभावित

चिसिदैं मधेश, जनजीवन प्रभावित

काठमाडौं । धनुषा, सिरहा, महोत्तरीसहित तराई मधेशका जिल्लामा चिसो ह्वातै बढेको छ । अत्यधिक कुहिरो लागेको छ । हल्का हावा चलेपछि चिसो बढेर जनजीवन प्रभावित बनेको हो । बिहान ८ बजेसम्म पनि घाम लागेको छैन । कुहिरोले जताततै सेताम्मे देखिन्छ । १०/१५ मिटर वर पनि देख्न गाह्रो भएपछि सवारी साधन चलाउन पनि नसकिने अवस्था छ । यति धेरै कुहिरोबीच सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम छ ।

चिसो बढेसँगै जनकपुरधाम बजार क्षेत्रमा पनि सर्वसाधारणको आवतजावत पातलिएको छ । गाउँघरमा मानिसहरू आगो (घुर) बालेर बसेका छन् । चिसोले विशेष गरी गरिब विपन्न वृद्धवृद्धा र बालबालिका बढी प्रभावित बनेका छन् । गरिबीले न्यानो लुगा किनेर लगाउन नपाएकाले गरिब विपन्न वर्गका लागि चिसो हरेक वर्ष काल बनेर आउँछ । चिसोले कठाङ्ग्रिएर तराई मधेशमा हरेक वर्ष कैयौँ वृद्धवृद्धा र बालबालिकाले ज्यान गुमाउँछन् । चिसोले गाई, गोरु, भैँसीसहितका घरेलु जनावरलाई पनि सताएको छ । किसानहरू गाई, गोरु, भैँसी र बाख्राहरूलाई चिसोबाट जोगाउन बाक्लो कपडाले ढाकेको र नजिकै आगो बालेको दृश्य गाउँघरमा देख्न सकिन्छ ।

चिसो बढ्ने भएकाले शरीर ढाक्ने न्यानो कपडा लगाउन र ताजा तथा तातो र झोलिलो खानेकुरा बढी खान सर्वसाधारणलाई चिकित्सकहरूको सुझाव छ ।