यी हुन् राष्ट्रियसभा निर्वाचनका लागि दर्ता भएका १२ दल

यी हुन् राष्ट्रियसभा निर्वाचनका लागि दर्ता भएका १२ दल

काठमाडौं । आगामी माघ ११ गते तय भएको राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन १२ वटा राजनीतिक दल दर्ता भएका छन् । दल दर्ताको अन्तिम दिन शुक्रबारसम्म १२ वटा दलले आवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।

जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टीले आवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन आवेदन दिएका छन् । आइतबार आवेदन परेका दलको निवेदनमाथि जाँचबुझ गरिने प्रवक्ता पौडेलको भनाइ छ ।

आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदैछ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।