बालबालिकाको खुबी र सीप विकास गर्ने उद्देश्यले 'एमयुएन'मा छलफल

बालबालिकाको खुबी र सीप विकास गर्ने उद्देश्यले 'एमयुएन'मा छलफल

काठमाडौँ । अन्तर्राष्ट्रिय जगतमा देखिएका समस्या र तिनको समाधानबारे छलफल गर्दै सातौं मोडेल युनाइटेड नेसन्स (एमयुएन) सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय जगतमा देखिएका समस्या र तिनको समाधान, आर्थिक तथा वित्तीय मामिला, दिगो विकास, वादबिवाद, वक्तृत्व लगायतका सामूहिक प्रस्तुतिका साथै घोषणापत्र तयार पार्दै मोडेल एमयुएन सम्पन्न भएको हो । 

बालबालिकाको खुबी र जीवनोपयोगी सीप विकास गर्ने उद्देश्यले अक्षरा स्कुलमा आयोजित मोडेल एमयुएनमा  विद्यार्थीले सातवटा कमिटी मार्फत छलफल गरेका थिए ।  आर्थिक तथा वित्तीय मामिला परिषद्बारे छलफल गर्दै विद्यार्थीले कतिपय कमजोर राष्ट्रले गैरकानुनी रुपमा व्यवसाय गरेर आफ्नो आर्थिक अवस्था सुधार गरे पनि युएनको नजरमा ती देशको छवि नराम्रो रहेको निष्कर्ष निकालेका थिए । 

विज्ञान र प्रविधिमा संयुक्त राष्ट्र आयोगको सन्दर्भमा पनि विद्यार्थीले अध्ययन गरेका थिए, जसमा बढ्दै गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का विषयमा अध्ययन गरेको बताए । त्यस्तै विद्यार्थीले दिगो विकासका विषयमा छलफल गर्दै भविष्यमा आउने चुनौतीलाई सामना गर्नका लागि अहिले नै कुनै उपाय निकाल्नु पर्ने निष्कर्ष निकालेका थिए । संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम अन्तर्गत जीवजन्तुको संरक्षण विषयमा छलफल भएको थियो । संयुक्त राष्ट्र मानव अधिकार परिषद् विषयमा पनि विद्यार्थीले छलफल गरे । सामाजिक सञ्जालमा कसरी प्रस्तुत हुने भन्ने बारेमा इण्डियाले लिङ्ग परिवर्तनलाई लगाएको प्रतिवन्ध विषयमा छलफल गर्दै अन्तर्राष्ट्रिय न्यायालय अन्तर्गत कुलभूषण जादबको विषयमा छलफल भयो । नक्कली पासपोर्ट बनाई इरानमा व्यापार गर्ने भारतीय मूलका जादबलाई पाकिस्तान सरकारले आतंकवादी भनेर मृत्युदण्ड दिने निर्णय गरेको थियो, जसमा भारत अन्तर्राष्ट्रिय अदालत गएको थियो । यसका साथै बिबिसी, सिएनएन, क्योडोलगायत अन्तर्राष्ट्रिय मिडियाले कसरी समाचार संकलन गर्छन् र विश्वभरि सञ्चार गर्छन् भन्ने विषयमा पनि उनीहरुले  छलफल गरेका थिए । 

‘मोडेल युनाइटेड नेसन्स’ संयुक्त राष्ट्र संघबाट मान्यताप्राप्त एक शैक्षिक मञ्च हो, जसका माध्यमबाट विद्यार्थीले विभिन्न देशका प्रतिनिधिहरूको भूमिकामा रही ती देशको नीति र दृष्टिकोणका साथै वास्तविक विश्वव्यापी समस्या बुझ्ने र तिनको समाधान गर्ने उपाय खोजेर सुझाव दिने गर्दछन् । 

खुल्ला विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. लेखनाथ शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयकी संस्थापक निर्देशक अञ्जु भट्टराईले अक्षरा एमयुएन भावी पुस्तालाई सशक्त बनाउने, कूटनीतिक सीपहरूको पालनपोषण गर्ने र विश्वव्यापी चेतनालाई बढावा दिने प्रमाणको रूपमा रहेको बताइन् । विद्यालयका शैक्षिक निर्देशक विष्णु पनेरुले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि एमयुएन अत्यन्तै उपयोगी भएका बताउँदै विद्यालयले विगत सात वर्षदेखि विद्यार्थीबिच गराउँदै आएको जानकारी दिए । प्रिन्सिपल मिलन केसी लोप्चनले एक्काइसौँ शताब्दीसँगै विश्वव्यापीकरणको युगमा विद्यार्थीलाई सबै क्षेत्र र विषयमा आधारभूत ज्ञान दिन आवश्यक रहेको धारणा राखिन् । 

कार्यक्रमका प्रमुख अतिथि शर्माले यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइमा समालोचनात्मक सोचको विकास गर्ने र अनुसन्धानमूलक अध्ययन गर्ने बानीको विकास गर्ने बताए । त्यस्तै युएनका प्रतिनिधि तथा आर्थिक र दिगो विकासका सल्लाहकार सुवास नेपालीले एमयुएन जस्ता बालमैत्री कार्यक्रमले खोजअनुसन्धान गर्ने, कुनै पनि विषयवस्तुको उठान गर्ने र तर्क गर्नेजस्ता सिप विकास गरी भविष्यमा विद्यार्थीलाई सफल योजनाकार तथा कूटनीतिज्ञ बन्न सहयोग गर्ने स्पष्ट पारे । 

मङ्सिर ८ देखि आइतबार सम्म सञ्चालित कार्यक्रममा माध्यमिक तहका विद्यार्थी सहभागी थिए । कार्यक्रमको संयोजन कक्षा १० का विद्यार्थीले गरेका थिए । कार्यक्रममा अक्षरा स्कुल र अन्य विद्यालयका गरी करिब १४० प्रतिनिधिको सहभागिता रहेको थियो । 

समापन कार्यक्रममा युएन कमिटीका अध्यक्षले कमिटीका उत्कृष्ट तीन प्रतिनिधिलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित सम्मान गरेका थिए ।