ईन्जिनियरिङ अध्ययन संस्थानले ल्यायो स्नातक तहको नयाँ शुल्क

ईन्जिनियरिङ अध्ययन संस्थानले ल्यायो स्नातक तहको नयाँ शुल्क

काठमाडौँ । ईन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको नयाँ शुल्क तोकेको छ। संस्थान कार्यान्वयन समितिले नयाँ शुल्क निर्धारण गरेको हो । नयाँ शुल्क अनुसार चार बर्षे बीई तथा बी आर्कको धरौटी सहित नियमित तर्फ ५६ हजार ७०० रुपैयाँ कायम गरिएको छ। त्यस्तै पूर्ण शुल्कीय तर्फ ४ लाख ९० हजार र विदेशी विद्यार्थीको हकमा १३ लाख १३ हजार ५०० रुपैयाँ कायम गरिएको हो । 

उक्त शुल्कमा विद्यार्थीहरूले अझै असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरूले पुरानै शुल्कमा पठनपाठन गराउनुपर्ने माग राख्दै आएका छन्। तर, संस्थानले उक्त शुल्कमा कुनै पनि हालत पढाउन नसकिने अडान कायम राख्दै आएको थियो । यसअघि पूर्ण शुल्कीय तर्फ ३ लाख १८ हजारबाट बढाएर ७ लाख ७५ हजार रुपैयाँ शुल्क बनाइएको थियो। नियमित तर्फ समेत बढाएर ८३ हजार पुर्याईएको थियो । त्यसपछि विद्यार्थीहरू आन्दोलित बनेका थिए ।

नयाँ शुल्क तोकेर संस्थानले प्रवेश परीक्षाको समेत सूचना जारी गरेको छ । शुल्क विवादका कारण यसअघि भदौ २५ गतेदेखि गर्ने भनिएको प्रवेश परीक्षा रोकिएको थियो ।
त्यसपछि असोज २२ गतेका लागि अर्को मिति तय गरिएको थियो । तर, त्यसमा समेत विवाद उत्पन्न भएपछि पुनः परीक्षा रोकिएको थियो। र परीक्षा अनिश्चित बनेको थियो । अहिले डीन कार्यालयले एक सूचना जारी गर्दे कार्तिक १४ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो । 

यस भन्दा पहिले प्रवेश परीक्षा आवेदन फाराम भर्न छुटेकालाई असोज २२ गते देखि २४ गते सम्म अनलाइन  मार्फत फाराम भर्ने समय तोकिएको छ ।