काठमाडौंको ८९ वटा विद्यालयको व्यवस्थापन समिति खारेज

काठमाडौंको ८९ वटा विद्यालयको व्यवस्थापन समिति खारेज

काठमाडौं । काठमाडौँ महागरपालिकाले आफूमातहत रहेका सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति  खारेज गर्ने निर्णय गरेको छ । महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगर सभाले उक्त प्रस्ताव पारित गरेको थियो ।  नगर सभाले हालको व्यवस्थापन समिति भङ्ग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने प्रस्ताव पारित गरिसकेको छ । 

खारेज गर्ने निर्णय नगरसभाले पारित गरेपनि हालसम्म प्रमाणीकरण भने भएको छ ।  नगरसभाले पारित गरेको प्रस्ताव प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरण भएपछि मात्रै राजपत्रमा प्रकाशित हुने व्यवस्था रहेको छ । निर्णय संसोधन र खारेज गर्ने अधिकार समेत प्रमुख प्रशासकिय अधिकृतसँग हुने गर्छ । 

महानगरपालिकाभित्र ८९ वटा सामुदायिक विद्यालय छन् । महानगरपालिकाभित्र ३२ वटा वडा छन् । नयाँ व्यवस्था अनुसार व्यवस्थापन समिति गठन भएको अवस्थामा एकै वडाध्यक्षले थुप्रै विद्यालयको व्यवस्थापन समिति जिम्मेवारी सम्हाल्नुपर्ने देखिन्छ  । तर महानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक र अध्यक्षले भने सो निर्णयप्रति असन्तुष्टि जनाएका छन् । यद्यपि पुरानो व्यवस्थापन समिति भङ्ग गरेर सम्बन्धित वडाका वडाध्यक्षको अध्यक्षतामा नयाँ समिति गठन गर्ने अभ्यास यसअघि देशका विभिन्न पालिकामा भईसकेको छ ।