इक्यान उपाध्यक्षमा राजनको उम्मेदवारी, राजनीतिक स्वार्थ र गुटबन्दी न्यूनीकरण प्रमुख एजेण्डा

इक्यान उपाध्यक्षमा राजनको उम्मेदवारी, राजनीतिक स्वार्थ र गुटबन्दी न्यूनीकरण प्रमुख एजेण्डा

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को उपाध्यक्षमा करिअर कोच राजन गोदारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । इक्यानलाई राजनीतिक स्वार्थ,गुटबन्दीको समस्याबाट मुक्त गराउन उम्मेदवारी दर्ता गराएको गोदारले जनाएका छन् । गोदारले इक्यानको प्रतिष्ठा र गौरव उच्च बनाउन नेतृत्वसँग हातेमालो गरेर अगाडि बढ्ने वाचासमेत गरेका छन् ।

२ दशकदेखिको क्रियाशिलता र अनुभव 
पोखरा र काठमाडौँमा दुई दशकभन्दा बढी शैक्षिक परामर्शदाता र करिअर कोचका रूपमा क्रियाशील राजन गोदार अलाइट ग्रुप अफ कन्सल्ट्यान्टका सञ्चालक हुन् । इक्यानको पदाधिकारीमा रहने चाहना नहुँदानहुँदै पनि बहुसङ्ख्यक इक्यानियन साथीहरूको सुझाव र जोडबलमा उम्मेदवारी दर्ता गराएको जनाएका छन् । गोदार विगतदेखिका नेतृत्वले इक्यानलाई सही मार्गदर्शन गर्न असफल भएका कारण योजनासहितका प्रतिज्ञापत्र लिएर चुनावी मैदानमा स्वतन्त्र उम्मेदवारका रूपमा उत्रिएका हुन् ।

पारदर्शीता, जवाफदेहीता र गतिशीलतामा चासो 
सङ्घलाई सुशासनयुक्त, पारदर्शी, जवाफदेही र गतिशील बनाएर गन्तव्य पहिचान गर्न नेतृत्व उदार हुनुपर्छ । आवद्ध सदस्यहरूको समान सहभागिता, क्रियाशीलता र सिर्जनशीलतासँगै समान अवसरका लागि आवाज उठाउन ढिला भएकाले पेचिलो मुद्धासहित इक्यानको चुनावी मैदानमा होमिएको गोदारले सार्वजनिक गरेका छन् । आफू उपाध्यक्ष चुनिएमा स्मार्ट कार्यसम्पादनसँगै प्रविधिलाई उपयोग गर्दै थप व्यवसायिक बनाउन पहल र प्रयास गर्ने जिकिर गरेका छन् । मुलुकभरि रहेका शैक्षिक परामर्श व्यवसायीहरूलाई गोलबन्द गरी छाता सङ्गठनका रूपमा साझा चौतारी र अपनत्वको भावना महसुस गराउन मत मागेका छन् ।