राती बैठक बस्नु धाँधलीको संकेत : उपाध्यक्ष रावल

राती बैठक बस्नु धाँधलीको संकेत : उपाध्यक्ष रावल

काठमाडौं । सौराहामा जारी पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र साँझ ७ बजे बस्ने जनाइएको छ । यस्तैमा पार्टीका उपाध्यक्ष डा. भीम रावलले राती बैठक बस्नु धाँधलीको संकेत देखिएको बताएका छन् । 

पार्टी अध्यक्षसहित केही प्रतिनिधिहरु अहिलेसम्म पनि छलफलमै व्यस्त छन् । उपाध्यक्ष रावलले भने सामाजिक सञ्जाल ट्विटरमार्फत दिनभरी प्रतिनिधिलाई अलपत्र पार्ने र रात परेपछि बैठक बस्ने भन्ने सूचना सार्वजनिक गर्नुले महाधिवेशन धाँधली हुने संकेत भएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र पार्ने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक मात्र होइन धाँधलीको संकेत पनि हो । यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिष्पर्धाको राजनीतिमाथि आघात पुग्छ ।’ 

यसअघि अध्यक्ष ओलीले पदाधिकारी तथा केन्द्रीय समिति सर्वसम्मत गर्न बोलाएको छलफलमा उपस्थित नभएका रावलले प्रतिनिधिहरूसँग मत मागेका थिए ।