एमाले महाधिवेशन उद्घाटनस्थल : ५० लाखको मञ्च भत्काइयो

एमाले महाधिवेशन उद्घाटनस्थल : ५० लाखको मञ्च भत्काइयो

चितवन । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि करिव ५० लाख लागतमा नारायणी किनारमा तयार पारिएको मञ्च भत्काइएको छ । दैनिक १ सय ३० मजदुरहरुलाई काम गर्न लगाएर झण्डै एक हप्तामा तयार पारिएको उक्त मञ्च भत्काउन तीन दिन पनि लागेन । 

हाल महाधिवेशनको बन्द सत्र अझै सुचारु भएको छैन । यता मञ्च भने भत्काइसकिएको छ । 

उद्घाटन सत्र मंसीर १० गते खचाखत भएको उक्त स्थानमा करिव ५ सय जनासम्म बस्न मिल्ने गरी स्टेज तयार पारिएको थियो ।

उद्घाटनसत्र सकिएपछि सोही दिन रातिबाट नै स्टेज फुकाल्ने काम सुरु भएको स्वयमसेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले जानकारी दिए । 

अहिले धमाधम भत्काउने र सामान ओसार्ने काम मात्रै भएको देख्न सकिन्छ । आजसम्म उक्त सामान पूर्ण रुपमा हटाईसक्ने श्रेष्ठले जानकारी दिए । 

उक्त क्षेत्रमा दुइृ सेल्फी प्वाइन्ट र गैडाको मस्कटबाहेक सबै हटाईसकिएको उनले बताए । 

एउटा समारोहका लागि अत्यधिक महंगो संरचना बनाएको भन्दै सामाजिक सञ्जालहरुमा टिप्पणी समेत भएका थिए । तर जवाफमा नेकपा एमालेको महाधिवेशन कस्तो हुन्छ भनेर विश्वलाई देखाउनु उद्देश्य रहेको भनि एमालेले बताईरहँदा नेकपाका नेता गोकुल बास्कोटाले ‘हामीले खर्च ग¥यौं तपाईहरुलाई किन टाउको दुख्यो ? हाम्रो खर्च देखेर तनाव भए कोशीमा हाम फाल्नु’ भनेर दिएको प्रतिक्रियाले धेरैलाई चुप लगाए ।