एमालेप्रति जनलहर बढेको छ, आउनुस् मिलेर देश बनाऊँ : अध्यक्ष ओली

एमालेप्रति जनलहर बढेको छ, आउनुस् मिलेर देश बनाऊँ : अध्यक्ष ओली

नेपालगञ्ज । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेप्रति जनताको आकर्षण दिनानुदिन बढ्दै गएको दावी गरेका छन् । उनले एमालेको सरकार हुँदा गरेको राम्रा कामले पनि जनता पार्टीप्रति आकर्षित बनेको बताए ।

बुधबार नेपालगञ्जमा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको काम देखेर पनि दिनप्रतिदिन पार्टीप्रति आकर्षित हुनेको संख्या बढ्दै गएको दावी गरे ।

उनले आफू प्रधानमन्त्री हुँदा विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको भन्दै त्यसैले पनि नेपाली जनताले पार्टीलाई माया गरेको र विश्वास गर्ने दावी गरे । उनले आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा काम सबै सामु छर्लंग भएको त्यसैले पनि एमालेको नीति विचारको आधारमा पार्टीप्रति जनलहर बढेको दाबी गरे ।

उनले भने, ‘एमाले सम्पूर्ण जनताको साझा पार्टी हो । यो कुनै प्रादेशिक र जातीय पार्टी होइन’ उनले थपे, ‘सही विश्लेषण र निष्कर्षका साथ साथीहरू पार्टी प्रवेश गर्नुभएको छ अब हामीले मिलेर देश बनाउने हो । आगामी निर्वाचनमा एमालेको आफ्नै सुदृढ बहुमत हुनेछ ।”

अध्यष ओलीले एमालेको सरकारका पालामा गरेको तीव्र विकासले विश्वमा तीव्र विकास गर्ने १० देशको सूचीमा परेको समेत दाबी गरे ।