काठमाडौं । नेपाल धितोपत्र बोर्ड ‘सेबोन’ को नेतृत्वका लागि १२ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन विहीबारसम्म १२ जनाले अध्यक्ष पदका लागि आवेदन दिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
आवेदन दिनेहरुमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरी, उपकार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्य, नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ का पूर्व कार्यकारी अधिकृत सिताराम थपलिया र बीमा समितका पूर्वअध्यक्ष चिरञ्जिवि चापागाइं रहेका छन् । त्यस्तै केशवप्रसाद श्रेष्ठ, अनिल पौडेल, रमेश हमाल, हेमन्त बस्याल,जीवन अमगाई र अम्बिका शर्मा लामिछानेले पनि आवेदन दिएको स्रोतले बताएको छ ।
यसअघिका अध्यक्ष भिष्मराज ढुंगाना सेयर विवादमा मुछिएका कारण सरकारले निलम्बित गरेको थियो । त्यसयता रिक्त उक्त पदका लागि खुल्ला प्रतिस्पर्धामार्फत छनौट गर्ने भन्दै अर्थमन्त्रालयले सिलबन्दी आवेदन आव्हान गरेको हो ।
आवेदन दिनेहरु १२ जनामध्येबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । जसमध्येबाट मन्त्रिपरिषदले १ जनालाई बोर्डको अध्यक्षको रुपमा चयन गर्नेछ ।