काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराको राजीनामा माग गर्दै आएका कानुन व्यवसायीहरुले शुक्रबारबाट आन्दोलनलाई थप सशक्त बनाउने भएका छन् । राणाको राजीनामा माग्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एशोसियसनले बिहीबार आफूहरुमाथि प्रहरी हस्तक्षेप भएपछि शुक्रबारबाट आन्दोलनलाई थप सशक्त बनाउन लागेको हो ।
बारका अध्यक्ष पूर्णमान शाक्यले जबरालाई सर्वाेच्चको गेटमै रोक्ने घोषणा गरेका छन् । त्यसैले पनि सम्पूर्ण कानुन व्यवसायीहरुलाई ९ः३० मा नै भेला हुन आग्रह गरेका छन् ।
बारका महासचिव लीलामणि पौडलले विज्ञप्ति जारी गर्दै शुक्रबार बिहान ९ः३० बजे नै सबै कानुन व्यवसायीहरुलाई बार कार्यालयमा उपस्थित हुन निर्देशन जारी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘आफ्नै अदालत र कानून व्यवसायीबाट मात्र नभएर आम नागरिकबाटै बहिस्कृत प्रधान न्यायाधीशको विरोधमा नेबाए र आवद्ध सम्पूर्ण एकाईहरुले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने व्यहोरा जानकारी गराउँदै भोलि मिति २०७८।७।२६ गतेका दिन सर्वोच्च अदालतका सम्पूर्ण वेञ्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने, वेञ्च बहिष्कार गर्ने र माननीय न्यायाधीशज्यूहरुलाई समेत प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न र भोलि मिति २०७८।०७।२६ गते विहान ९ः३० वजे नै सम्पूर्ण कानून व्यवसायीहरुलाई नेबाएमा उपस्थित हुन समेत अपिल गर्दछौँ ।’
बिहीबार कानुन व्यवसायी र प्रहरीबीचको घम्साघम्सीमा सात जना कानुन व्यवसायीहरु घाइते भएका छन् । बारले उक्त घटनाको भत्र्सना गरेको छ ।