एमालेकै कारण यो संविधान बचेको हो : ओली

एमालेकै कारण यो संविधान बचेको हो : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन आफ्नो पार्टी कटिबद्ध भएको बताएका छन् । 

एमालेको कर्णाली–काठमाडौं सम्पर्क कमिटीले आइतबार काठमाडौमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले एमाले नभएको भए २०१७ सालमा झैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी गरे ।

उनले एमाले शक्ति मुलुकमा रहेकै कारण नयाँ संविधान जारी र संविधानको रक्षा भएकाले सबै कार्यकर्ताले यसबारे जनस्तरमा चेतना फैलाएर आगामी निर्वाचनमा जित्ने गरी काम गर्न आग्रह गरे ।  

अध्यक्ष ओलीले भने, ‘हामी बरु सरकार छोड्न तयार छौँ तर संविधान च्यात्न दिँदैनौँ। लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ। हामीले लडेर ल्याएको लोकतन्त्रलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन हामी कटिबद्ध छौँ।’

रासस