राष्ट्रपति कार्यालयको आँगनमा देउसी भैलो, राष्ट्रपतिले दिइन् सेलरोटीसहितको दक्षिणा

राष्ट्रपति कार्यालयको आँगनमा देउसी भैलो, राष्ट्रपतिले दिइन् सेलरोटीसहितको दक्षिणा

काठमाडाैं । राष्ट्रपति कार्यालय शीतलनिवासको प्रांगणमा आज सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसी भैलो प्रस्तुत गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा ती कलाकारले देउसीभैलोसहित नेपालका विभिन्न क्षेत्र र भू–भागका लोकसंस्कृति प्रस्तुत गरेका थिए।

त्यसक्रममा सांस्कृतिक संस्थानका ३० जना कलाकारले नेपालको पूर्व र पश्चिमका देउसी सहित नुगेको डाली, साकेला, घरपट्टि नानी, तिहारै आयो, टप्पा, रोयला, असारे महिनाजस्ता लोक–सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। 

त्यसैगरी बालमन्दिरका बालबालिकाले पनि देउसीभैलो प्रस्तुत गरेका थिए। राष्ट्रपति भण्डारीले देउसी भैलो प्रस्तुत गर्ने कलाकार टोलीलाई सेलरोटी, फलफूल र दक्षिणा समेत प्रदान गरिन्। उनले देउसी भैलोलाई दिइने परम्पराअनुसार नै बलेको दियो नाङ्लोमा राखेर चामल र सेलरोटीसहितको दक्षिणा आफैँले दिएकी थिइन्।


राष्ट्रपति भण्डारीले आफ्ना मौलिक गीत, सङ्गीत, कला र साहित्यले जुनसुकै देशलाई पनि समृद्ध बनाउन सहयोग पुर्‍याउने भन्दै नेपालको लोकसंस्कृति विश्वमै विशिष्ट र अद्वितीय रहेको बताइन्। उनले सांस्कृतिक संस्थानले नेपालको लोक–संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धनमा निर्वाह गरेको भूमिका अतुलनीय रहेको भन्दै आज प्रस्तुत देउसीभैलोका लागि सबै कलाकारलाई विशेष धन्यवाद दिइन्।

उनले कोरोना महामारीले असहज बनाएको नेपाली समाज र देशको अवस्थालाई सहजतातर्फ उन्मुख गराउन यस्ता सांस्कृतिक कार्यक्रमहरूले पनि योगदान पुर्‍याउन सक्ने बताइन्। राष्ट्रपति कार्यालयको आँगनमा यसरी आफ्ना प्रस्तुति दिन पाएकामा कलाकारहरुले निकै खुशी व्यक्त गरेका थिए।