गठबन्धनसँग टक्कर लिन खोज्नेहरु टुक्रा-टुक्रा हुनेछन् : माधव नेपाल

गठबन्धनसँग टक्कर लिन खोज्नेहरु टुक्रा-टुक्रा हुनेछन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ‘गठबन्धनलाई कसैले भत्काउन नसक्ने दाबी गरेका छन् । बिहीबार मध्यपुर थिमि नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताएका हुन् ।

‘पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन सक्दैन । छिटै चुनाव हुनेवाला छैन,’ उनले भने, ‘कसैले भ्रम नपाले हुन्छ– आजै चुनाव, छिटै चुनाव हुनेवाला छैन । संघीय संसदको चुनाव आफ्नै समयमा हुनेछ,’ उनले भने । नेता नेपालले पाँच दलको गठबन्धन बलियो हुने भन्दै आफूहरुसँग टक्कर लिन खोज्नेहरु समाप्त हुने दाबी गरे ।

‘पाँच दलको गठबन्धन बलियो हुनेछ । गठबन्धन कसैले भत्काउन सक्दैन, हामीसँग टक्कर लिन खोज्ने एमालेको मुलुकबाट नाम निशान मेटिनेछ,’ उनले भने । आफूहरुसँग टक्कर लिन खोज्दा कर्णाली प्रदेशमा नेकपा एमाले उठ्नै नसक्ने हालतमा पुगेको समेत बताए ।

आगामी निर्वाचनबारे विभिन्न ठाउँको आकलन गरिरहेको बताउँदै नेपालले भने, ‘आगामी चुनावमा एकीकृत समाजवादी पार्टीको विजय अभियान अघि बढ्ने छ । हामी जित्ने छौं । हामीसँग इर्ष्या गर्नेहरुको हालत खत्तम हुनेछ ।’

अब केही समयमा राष्ट्रियसभाको, स्थानीय तहको र रिक्त स्थानमा संघीय उपनिर्वाचन हुन लागेको भन्दै नेता नेपालले कलम छाप चिह्न भएको एकीकृत समाजवादीको विजयी अभियान अगाडि बढ्दै जाने जिकिर गरे । कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अहिले ओली नेतृत्वको एमाले गफाडी जमात भएको टिप्पणी गरे ।