भरतपुर पुगेर एमाले अध्यक्ष ओलीको निर्देशनः हामीले बहुमत ल्याउनुपर्छ, तयारीमा लाग्नुस्

भरतपुर पुगेर एमाले अध्यक्ष ओलीको निर्देशनः हामीले बहुमत ल्याउनुपर्छ, तयारीमा लाग्नुस्

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । एमाले भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको कसैसँग पनि नमिलेर बहुमत ल्याउने दावी गरे । उनले प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा ५०/५० प्रतिशतभन्दा बढी ल्याउनै पर्ने दावी गरे ।

उनले पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने समेत निर्देशन दिए । उनले भने, ‘एमाले वैशाखी टेकेर होइन, एक्लै चुनावमा जान्छ र जित्छ पनि त्यो पनि बहुमतले । अब तपाईहरु त्यसैको तयारीमा अघि बढ्नुस्।”

पाँच दलीय गठबन्धन निर्वाचनसम्म मिल्ने चर्चा चलिरहेको भन्दै अध्यक्ष ओलीले जो जो मिलेर आएपनि नेकपा एमालेको त्यसले सामना गर्नसक्ने गरी आउन चुनौती दिए । 

एमालेले लोकतन्त्रमा विश्वास गर्ने भन्दै जनताको मतलाई सम्मान गर्ने बताए । उनले भरतपुरमा फेरि पनि मतपत्र च्यातेर चुनाव जित्ने सपना नबुन्न विपक्षीलाई चुनौती दिए । 

आफूहरु तीनै तहमा बहुमत ल्याउने सङ्कल्पका साथ अगाडि बढेको र रोक्न सक्ने तागत भए देखाए हुन्छ भन्दै विपक्षीलाई चुनौती दिए । 

एमाले पदका लागि नभएर मुलुक बनाउनका लागि खुलेको पार्टी भएको भन्दै यसका कार्यकर्ता यसैतर्फ केन्द्रित हुने धारणा व्यक्त गरे । 

पार्टीको अधिवेशनमा पारस्परिक अन्तरविरोधलाई त्यागेर भविष्यका लागि मिलेर जानु आवश्यक भएको भन्दै विगतमा के भो भन्दा पनि अब के गर्नेभन्ने दिशातिर लाग्नुपर्ने बताए । अब पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्न अपिल गरे । चितवनका सबै क्षेत्रमा निर्वाचन जित्ने गरी लाग्न निर्देशन दिए ।