एमाले पार्टी पनि केपी ओलीसँगै सती जान्छ: माधव नेपाल

एमाले पार्टी पनि केपी ओलीसँगै सती जान्छ: माधव नेपाल

पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले पार्टी पनि अध्यक्ष केपी ओलीसँगै सती जाने टिप्पणी गरेका छन् । नेपालले भने ‘एमालेको त भविष्य खत्तम । एमालेमा जाने कुरा त कल्पनै नगरे हुन्छ । त्यहाँ बस्ने मान्छेको बेहाल । जतिछिटो एमाले छोडे, त्यति छिटो उनीहरुको भविष्य सुध्रिन्छ । मालेमा बस्नेहरुको हरिबिजोग हुनेवाला छ । त्यसको भविष्य नै छैन । टर्च बालेर खोज्नुपर्ने हुन्छ, कहाँ छ एमाले रु केपी ओली सँगसँगै त्यो एमाले सति जान्छ ।’

नेपालले प्रधानन्यायाधीश र न्यायालयमाथि केपी ओलीले नै हिलो छ्याप्ने काम गरेको भन्दै महाभियोग लाउने कुरा सम्भव नभएको बताए । पोखरामा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सबैखाले निर्वाचन एकै पटक गर्न प्रस्ताव गरेका छन् । 

‘अर्ली इलेक्सन किन गर्नुपर्‍यो ? बरु मिल्छ कि मिल्दैन थाहा छैन, तीनवटै निर्वाचन एकैपटक गर्नु पर्छ कि भन्ने लागेको छ । खर्च पनि कम हुन्थ्यो । राष्ट्रको सम्पत्ति जोगिन्थ्यो होला,’ उनले भने, ‘कानुनी अड्चन छ कि छैन कुन्नी । हामी सल्लाह गर्छौं, मिल्छ भने त्यही बाटोमा किन नजाने ?’

उनले तत्काल कुनैपनि पार्टीसँग एकीकरण नगर्ने तर चुनावसम्म पाँच दलीय गठबन्धन कायम रहने बताए ।