काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सर्वोच्च अदालतमा भइरहेको इजलास बहिस्कारलाई न्यायपालिका सुधारका लागि नभएको बताएको छ ।
अरुको फैसला गर्ने, डण्डीत गर्नेहरुले नै अहिले इजलास बहिस्कार गरेर नागरिकको संविधान प्रदत्त मौलिक अधिकार हनन गरेको भन्दै यो न्यायाशीसहरुको अशोभनीय कार्य भएको उल्लेख गरे ।
बिहीबार स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सर्वाेच्चमा भएको इजलास बहिष्कारसहितको समस्याले न्यायालयभित्रको चुरो कुरालाई समात्नै नसकेको आरोप लगाए । केही निश्चित राजनीतिक दल तथा नेताहरुको स्वार्थका न्यायालयका केही व्यक्तिहरुले अपवित्र साँठगाँठका कारण न्यायालयमा समस्या देखिएको बताए । यति जान्दाजान्दै नेकपा एमाले भने यस्तो कुरामा नअल्झिने पनि बताए ।
ज्ञवालीले भने, ‘एउटालाई हटाएर मेरो पालो आउँथ्यो भन्ने न्यायाधीशको मनसाय हुनसक्छ, कतिपय वकिललाई मन नपर्ने न्यायाधीश हटाएर मनपर्नेलाई चुन्न पाए आफ्नो पक्षमा फैसला गरिदिन्थे कि भन्ने होला ।’ उनले थपे, ‘सत्ता गठबन्धनका कतिपय नेतालाई लागेको होला चाहेको व्यक्तिलाई ल्याउन पाए तर्साएर, धम्क्याएर आफ्नो पक्षमा फैसला सुनाउन पाइन्छ । यस्ता यस्ता स्वार्थमा नेकपा एमालेलाई पर्नु छैन र पर्दैन पनि ।’
न्यायाधीशहरुको गुटबन्दीको शिकार सर्वसाधारण परेको समेत उल्लेख गरे ।