न्यायालयको आन्तरिक मामिलामा राजनीतिक हस्तक्षेप हुनु हुँदैनः रामचन्द्र पौडेल

न्यायालयको आन्तरिक मामिलामा राजनीतिक हस्तक्षेप हुनु हुँदैनः रामचन्द्र पौडेल

काठमाडौं । गठबन्धन सरकारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मन्त्रीको भाग खोजेको भन्ने विषयले अहिले न्यायालयको स्थिती उग्र बनेको छ ।

न्यायाधीशहरु प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन् भने उनी राजीनामा नदिने पक्षमा छन् । बरु परी आएको व्यहोर्न तयार रहेको बताएका छन् । 

यतिबेला न्यायालय किचलो बनेको छ । प्रधानन्यायाधीश राणाले सरकारमा भाग खोजेको भन्दै चौतर्फी राजीनामाको माग उठिरहेका बेला राजनीतिक दल भने मौन छ ।

यस्तैमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एक जनाले मात्रै नभई परमादेश जारी गर्ने पाँच जना न्यायाधीशहरुले नै राजीनामा दिनुपर्ने भनि मंगलबार प्रतिक्रिया दिए । लगत्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने न्यायालयमा बनेको असहज परिस्थितिप्रति आफू चिन्तित रहेको भएपनि यस यसमा राजनीतिक हस्तक्षेप गर्न नहुने प्रतिक्रिया दिएका छन् । 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग बोल्दै नेता पौडेलले प्रधानन्यायाधीशका सम्बन्धमा आफूहरुलाई चिन्ता रहेको तर आफूहरुले राजनीतिक हस्तक्षेप गर्न नचाहेको पनि बताए । न्यायलयमा उत्पन्न भएको असहज परिस्थिति न्यायलयको आन्तरिक मामिला भएको भन्दै त्यसमा राजनीतिक हस्तक्षेप गर्न नहुने बताए ।