विगत १२ दिनदेखि अनसनरत महिला अधिकारकर्मी रुबी खानले अनशन तोडेकी छिन् । उनले मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलकाे हातबाट जुस पिएर अनसन ताेडेकी हुन् ।
सरकारले नेपालगन्जमा भएका दुई महिलाको रहस्यमयी हत्यामा छानबिनका लागि गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेपछि खानले अनसन तोडेकी हुन् । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयमार्फत छानबिन समिति गठन गरेका हुन् ।
बाँकेकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको मृत्युबारे सो समितिले छानविन गरी एक साताभित्र प्रतिवेदन दिने जनाइएको छ । रूबी खानले हाललाई अनसन स्थगितमात्रै भएको भन्दै घटनाको सत्यतथ्य बाहिर नआए यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएकी छिन् ।
बाँके घटनामा पीडितलाई न्याय माग्दै १४ जना महिला अधिकारकर्मीहरू नेपालगञ्जबाट २० दिन पैदल हिँडेर काठमाडौ आई माइतीघर मण्डला आइपुगेका थिए । आएकै राति प्रहरीले उनीहरुमाथि धरपकड गरेपछि रुवी खानले अनसन सुरु गरेकी थिइन् ।