असनका स्थानीय बासिन्दाले आज विजया दशमी मनाउने

असनका स्थानीय बासिन्दाले आज विजया दशमी मनाउने

काठमाडौं । काठमाडौंको असनका स्थानीय बासिन्दाले आज मात्र विजया दशमीको टीका थाप्छन् । हरेक वर्ष एकादशीका दिन असनका बासिन्दाहरुले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी विजया दशमी मनाउने गर्दछन् । 

आज नै असनमा तुलाधर समुदायको सबैभन्दा कान्छो कुमार बालकको अगुवाइमा खड्ग जात्रा निकालिने गरिन्छ । असनमा रहेको अन्नपूर्ण अजिमाको मन्दिर नजिकै रहेको आगम घरबाट दिउँसो १ बजेपछि खड्ग जात्रा निस्कने स्थानीय रोशन तुलाधरले बताए। 

असन बाहेक अन्य क्षेत्रमा भने हिजै विजया दशमी मनाइएको छ । विजया दशमीको दिन हिजो टिका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिँदै छन्।

घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ ।

आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहि आएको छ ।ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।