सिटिजन्स बैंक लुट प्रकरणः तीन जना सावर्जनिक

सिटिजन्स बैंक लुट प्रकरणः तीन जना सावर्जनिक

मोरङ । मोरङको कर्सियास्थित सिटिजन्स बैंकको शाखामा सोमबार सुरक्षा गार्डमाथि गोली हानी बैक लुट्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।  लुटपाटमा संलग्नमध्ये तीन जनालाई मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा विराटनगर ८ का ३२ वर्षीय श्याम मुखिया, भारतको अररिया जिल्लास्थित सेखपुरा ५ का २८ वर्षीय सुनिल यादव र गोराहा ४ का ३० वर्षीय विजय सहनी रहेका छन् । 

बैंक लुटपाट गरेर भाग्ने क्रममा धनपालथान–२ खयरबना चोक नजिकैबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।  प्रहरीले उनीहरूको साथबाट को२५प ३८९९ नम्बरको मोटरसाईकल र कटुवा पेस्तोल समेत बरामद गरेको छ । 

बैक लुटपाटपछि भाग्ने क्रममा प्रहरीले उनीहरुमाथि गोली चलाएको थियो । प्रहरीको गोली लागी सहनी घाइते भएको थिए । सहनीको बायाँ खुट्टामा गोली लागेपनि उनी भारतिर भाग्न खोज्ने क्रममा प्रहरीले पक्राउ गरी उपचारपछि विराटनगर ल्याइएको थियो । 

दशैको माहोलले बजार व्यस्त भइरहेका बेला सोमबार दिउँसो लुटेराको समूहले बैंकका सुरक्षागार्ड रङ्गेली नगरपालिका–२ का ४० वर्षीय सितल कुमालमाथि गोली चलाएका थिए ।

गोली लागेर भुँइमा कुमाल ढलेपछि काउन्टर कर्मचारी भागेपछि लुटेराहरुलाई थप सहज भएको थियो । उनीहरूले बैंकबाट २१ लाख ७० हजार रूपैयाँ लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  मोरङ प्रहरीका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।