काठमाडौं । लगातारको गिरावट आएको नेपाली शेयर बजारमा आज पनि हरियाली छाएको छ । हिजो मंगलबार बजार ४१ अंकले बढेको थियो भने आज बुधबार पनि नेपाल स्टक एक्सचेन्ज–नेप्से ६८.४७ अंकले बढेको छ।
साताको सुरुका दुई दिन भने नेप्से घटेको थियो । बुधबार नेप्से २ हजार ६ सय ८१.११ विन्दुमा पुगेर बन्द भएको हो ।
सबै समूहको शेयर उकालो लागेको छ । विकास बैँक, फाइनान्स, जलविद्युत्, उत्पादन र माइक्रो फाइनान्स समूहको शेयर उच्च अंकले बढेको छ ।
दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा १३ वटा बाहेक सबै कम्पनीको शेयर बढेको छ । आज १३ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज नेप्सेमा ८१ लाख ८९ हजार ८ सय ९० कित्ता सेयर बिक्री भएको छ भने त्यसबाट चार अर्ब ५० करोड ६ लाख ५८ हजार एक सय ४२ रुपैयाँको कारोबार भएको छ ।