लुम्बिनी सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याउँदै

लुम्बिनी सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याउँदै

रुपन्देही । प्रतिपक्षी नेकपा एमालेको विरोधका बीच आज लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी गरेको छ । आज १ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट पेश गर्दैछन् ।

एमाले नेता शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले चालु आर्थिक वर्ष २०७८–७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । प्रतिपक्षी दलहरूको असहयोगका कारण बजेट पारित हुन नसकेपछि तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो । मुख्यमन्त्री कुलप्रसाद केसीले ४ दलीय गठबन्धनको नेतृत्व गर्दै २८ साउनमा नै बजेट नयाँ आउने जनाएका थिए ।

माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नेतृत्वमा कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अजय शाहीसमेतको गठबन्धन सरकार बनेपछि बजेट कार्यान्वयन हुन सकेको थिएन । नयाँ सरकार गठन भएको दुई महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन र नयाँ बजेट ल्याउन नसकेपछि सरकारको चर्को आलोचना हुँदै आएको छ ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्काका अनुसार अध्यादेशबाट ल्याइएको बजेटलाई संशोधन गरेर केही नयाँ कार्यक्रम थप गरी बजेट ल्याउन लागिएको हो ।

यसअघिको बजेटमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ विनियोजन भएको थियो । बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि र पर्यटनमा केन्द्रित थियो ।प्रदेश सभाको प्रमुख विपक्षी दल एमालेले भने बैठक अवरुद्ध गर्ने बताएको छ ।