भारततर्फका १५ भन्दा बढी नाका खुला, सीमा नाकामा बढेको चहलपहलले कोरोना जोखिम बढायो

भारततर्फका १५ भन्दा बढी नाका खुला, सीमा नाकामा बढेको चहलपहलले कोरोना जोखिम बढायो

कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको ताँती सीमा क्षेत्रमा लागेको छ ।

सीमा क्षेत्रमा बढ्दो भीडभाडले कोरोना जोखिमसमेत बढाएको छ । यद्यपि, सरकारले कोरोना जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा प्राथमिकतासाथ कोरोना परीक्षणलाई समेत तयारी अवस्थामा राखेको छ । प्रदेश २ का आठवटा जिल्लाका सीमा नाका खुला गरिएका छन् । 

सो क्षेत्रमा स्वास्थ्य संवेदनशीलतालाई ख्यालमा राख्दै मुख्य दुई नाका वीरगञ्ज र भिठामोडमा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको मुख्य नाका गौरीफन्टा र गड्डाचौकीमा कोरोना जाँच नियमित रूपमा हुँदैआएको छ । प्रदेश १ का काँकडभिट्टाको मेची भन्सार र भद्रपुर नगरपालिकाको भद्रपुर भन्सार कार्यालय खुला गरिएको छ । यद्यपि, औपचारिक रूपमा भारतले नाका खुलाएको छैन ।

गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र सीमा नाका पनि चार दिनदेखि सञ्चालनमा आएको छ । १८ महिना बन्द रहेको भन्सार कार्यालय खुला भएपछि मानिसको चहलपहल बढेको छ । भारतले वाल्मीकि नगर भन्सार र नेपालले त्रिवेणीतर्फको भन्सार सञ्चालनमा ल्याएको छ ।

प्रदेश २ का स्वास्थ्य निर्देशक विजयकुमार झाका अनुसार, भारतीय नम्बरका निजी सवारी प्रवेशका लागि सरकारले स्वास्थ्य मापदण्ड निर्धारण गरेको छ । स्वास्थ्य मापदण्ड जाँचका लागि प्रदेश २ मा वीरगञ्ज र भिठामोडमा मात्र स्वास्थ्य जाँच केन्द्र राखिएका कारण समस्या आउन सक्ने उनको धारणा छ ।

पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्म कम्तीमा आठवटा स्वास्थ्य जाँच केन्द्र स्थायी रूपमा सञ्चालन गर्नुपर्ने निर्देशक झाले बताउनुभयो । प्रदेश २ का सीमा क्षेत्रमा कोभिडको प्रथम चरणका बेला ३० स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको थियो । 

उनले सीमा नाकासँग जोडिएको स्थानीय तहको समन्वयमा सङ्घीय सरकारले तत्कालै हेल्थ डेस्क स्थापना गर्ने तयारी गरिरहेको बताए ।

सीमा नाकामै परीक्षण

नेपाल प्रवेशका लागि अनलाइन फाराम भर्नुपर्ने र ७२ घण्टाअघिको पीसीआरको नेगेटिभ रिपोर्ट आवश्यक हुने व्यवस्था गरिएको छ ।

 जसले गर्दा भारतीय पर्यटक र सवारी नेपाल भित्रिन समस्या रहेको जनाइएको छ । भिठामोड सीमा नाकाका हेल्थ असिस्टेन्ट अजय ठाकुरले भारतका कोभिड प्रभावित राज्यबाट नेपाल आउनेको ज्वरो नाप्ने र अनिवार्य रूपमा एन्टिजेन परीक्षण गरिएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले सीमा क्षेत्रमा कुनै पनि प्राविधिक समस्या नरहेको स्पष्ट पार्दै स्वास्थ्य मापदण्डको पालना गर्ने सवारीसाधनलाई प्रवेश दिइएको बताए ।

१८ महिनापछि खुल्यो नाका

गण्डकी प्रदेशको एक मात्र त्रिवेणी भन्सार सीमा नाका १८ महिनापछि खुलेको छ । चार दिनदेखि सो नाका सञ्चालनमा आएको हो । भारतको वाल्मीकिनगर भन्सारले शनिबार बिहानबाट पैदल आउजाउ गर्न दिएपछि दुवैतर्फबाट गाडी चल्न दिइएको प्रहरी नायब निरीक्षक ढाकाराम लामिछानेले जानकारी दिए ।

त्रिवेणी भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले तत्काल त्रिवेणी नाका खोल्न सरकारले परिपत्र गरेपछि नाका सहज भएको र नाकामा हेल्प डेस्क स्थापना गरी आवतजावत सहज गराइएको बताए ।

त्रिवेणी छोटी भन्सारलाई एक वर्षअघि सरकारले मूल भन्सारमा स्तरोन्नति गरेको थियो तर नेपालतर्फ त्रिवेणीमा गोदाम र पार्किङ बनिनसकेका कारण यहाँबाट धेरै सामान आयात निर्यात हुन सकेको छैन ।

पूर्वमा आंशिक खुला

प्रदेश १ को काँकडभिट्टा मेची भन्सार र भद्रपुर भन्सार कार्यालय सामान्य रूपमा सुरु भएको छ । दक्षिणी सीमावर्ती गौरीगञ्ज नाकाबाट पनि सामान्य आवतजावत सुरु भएको छ । यद्यपि भारततर्फको कडाइले समस्या रहेको स्थानीयवासीको गुनासो छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले दिएको जानकारीअनुसार, पश्चिम बङ्गाल सरकारले अहिले पनि आवतजावतमा कडाइ नै गरेको छ । नाका खुलाउन आग्रह गरिए पनि अहिलेसम्म खुलाइएको छैन । सो नाकामा ७२ घण्टाभित्रको पीसीआर खोप कार्ड अनिवार्य गरिएको छ ।

काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार, भारततर्फ पनि कोरोना खोपको कार्ड जाँच हुने गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले भारततर्फको नाका खुलाउन भारतको दार्जिलिङ र किसनगञ्जका समकक्षीसँग कुरा भइरहेको बताए ।

पशुपतिनगरमा चलहपहल

इलामको पशुपतिनगर नाका खुलेसँगै भारततर्फको आवतजावत बढेको छ । सरकारले भारतसँग जोडिएका नाकाहरू खुला गर्ने निर्णय गरेसँगै पशुपतिनगर नाका भएर नेपाल भित्रिने पर्यटक र व्यापारीको चहलपहल सुरु भएको हो ।

सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईका अनुसार, पशुपतिनगर नाका भएर भारत जाने आउनेको सङ्ख्या बढ्न थालेको छ । पशुपतिनगर भएर भारतीय र बङ्गाली पर्यटक नेपाल भित्रिन थालेका छन् ।

इलामको पशुपतिनगर, मानेभञ्ज्याङ, जौबारीलगायतका नाका भएर नेपाल–भारत आउजाउ हुने गरेको छ । यी नाका गत वैशाख २५ देखि बन्द भएका थिए ।

 यद्यपि, भारत सरकारले औपचारिक रूपमा सीमा खुला नगर्दा भारतीय सवारीले नेपाल प्रवेश पाएका छैनन् । इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार, स्थानीय प्रशासनले नेपाल प्रवेश गर्नेहरूको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको छ ।

विराटनगरको रानीबाट साउनयता नेपाल प्रवेश गर्ने भारतीय नागरिकमा कोरोना सङ्क्रमण भेटिएको छैन । रानी हेल्थ डेस्कका सहायक प्रमुख सुरेन्द्र यादवका अनुसार साउनमा ६२३ जना नेपाल प्रवेश गरेकामध्ये ३९६ जनाको र भदौमा ४२६ मध्ये २७२ जनामा स्क्रिनिङ गरिएको थियो ।

एन्टिजेन परीक्षण गरिएकामध्ये साउनमा चार जना र भदौमा चार जनामा पोजेटिभ देखिएको थियो । त्यसयता अहिलेसम्म एक जना पनि सङ्क्रमित फेला परेका छैनन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले मुख्य सीमा नाका खुला गरिएसँगै सहायक नाकाहरूमा थप कडाइ सुरु गरिएको बताए ।

सीमामा हेल्थ डेस्क स्थापना

भारतबाट नेपाल भित्रिने यात्रुका लागि सीमा क्षेत्रमै स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । यद्यपि, सबै नाकामा स्वास्थ्य जाँच हुन नसक्दा कोरोना सङ्क्रमणको खतरा बढ्न सक्ने आशङ्का समेत गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णानन्द जोशीका अनुसार स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय र दातृ निकायहरूको समन्वयमा नाकामै कोरोना परीक्षणलाई निरन्तरता दिइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार, स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । गौरीफन्टा, गड्डाचौकी, टीकापुरको खक्रौला नाकामा हेल्थ डेस्क सञ्चालनमा छन् ।

स्वास्थ्य जाँच गर्दा कुनै सङ्क्रमणको शङ्का भएमा सीमा क्षेत्रकै आइसोलेसनमा राखिने व्यवस्था गरिएको छ । गौरीफन्टा नाकाबाट आएकाहरूमा सङ्क्रमण पाइएमा बेलीस्थित आइसोलेसनमा राख्ने व्यवस्था गरिएको स्वास्थ्य प्रमुख धामीले जानकारी दिए ।

यद्यपि, होम आइसोलेसनमा बस्न चाहेकाहरूलाई सीधै घरमै जान दिने व्यवस्था छ । भारतबाट फर्किरहेका सबैलाई अनिवार्य रूपमा ‘क्वारेन्टाइन’ बस्नैपर्ने बाध्यता भने अहिले हटाइएको छ ।

दशैँ नजिकिएसँगै सो नाकाबाट घर फर्कने नेपालीको सङ्ख्या बढ्दो छ । जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारीअनुसार, असोज महिनाको मङ्गलबारसम्म गौरीफन्टा र गड्डाचौकी नाकाबाट १४ हजार २७३ जना नेपाली घर फर्केका छन् । 

जसमध्ये नौ हजार ५२६ अर्थात ६६ दशमलव ७४ जनाको नाकामै कोरोना परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

अन्य ३३ दशमलव २५ प्रतिशतलाई सोधपुछ गरी गन्तव्यतिर जान दिइएको थियो । घर फर्केका नेपाली यातायात व्यवसायीबाट ठगिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले यात्रुलाई गन्तव्यसम्म पु¥याउन सहजीकरण गरिरहेको छ ।

ठोरीमा छैन जाँच

चितवनको ठोरी नाकामा स्वास्थ्य परीक्षणले प्राथमिकतामा पाउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार, यस नाकाबाट नेपाल प्रवेश गर्नेको सङ्ख्या न्यून रहेकाले हेल्थ डेस्क नराखिएको हो ।

प्रजिअ तामाङले भने, “नाकाको अवस्था बारेमा सोमबार निरीक्षण गरेर आएको थिएँ, भीडभाड देखिएको छैन । त्यसैले आवश्यकताको आधारमा परीक्षणको व्यवस्था गरिन्छ ।”