बढ्न थाल्यो सरकारी खर्च, तरलता सहजतासँगै सेयर बजार बढ्ने अनुमान

बढ्न थाल्यो सरकारी खर्च, तरलता सहजतासँगै सेयर बजार बढ्ने अनुमान

पछिल्लो समय सरकारी खर्च तीव्र रुपमा बढ्न थालेको छ।  प्रतिस्थापन विधेयक संसदबाट पारित भएसँगै सरकारी खर्चले तीव्रता पाएको हो।

असोज १७ गतेसम्म सरकारले १ खर्ब ७९ अर्ब २३ करोड ६४ लाख रुपैयाँ खर्च गरिसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

 हिजोसम्म सरकारले २ खर्ब २७ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले जनाएको छ। असोज १७ गतेसम्म सरकारी ढुकुटीमा ४८ अर्ब ५२ करोड ५१ लाख रुपैयाँमात्रै रहेको छ। 

पछिल्ला केही दिनयता दैनिक १० अर्बभन्दा बढीको दरले सरकारी खर्च भइरहेको महालेखाको तथ्यांकले देखाउँछ। 

सरकारी खर्च बढेसँगै तरलता सहज हुने अनुमान गर्न थालिएको छ। सरकारी खर्च बजारमा आएपछि तरलतामा दबाब कम पर्ने र यसले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने बजार जानकारहरु बताउँछन्। ‘अब सेयर बजार लयमा फर्किने सम्भावना प्रबल छ’, उनीहरुको भनाइ छ।