खाद्यको खसी बोका बिक्री घटस्थापनाको भोलिपल्टदेखि, यसपालि च्याङ्ग्रा नबेच्ने

खाद्यको खसी बोका बिक्री घटस्थापनाको भोलिपल्टदेखि, यसपालि च्याङ्ग्रा नबेच्ने

 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रवारदेखि (असोज २२) खसी बोकाको बिक्री वितरण सुरु गर्ने भएको छ । घटस्थापनाको भोलिपल्टदेखि कम्पनीले खसी बोका बिक्री वितरण सुरु गर्ने लागेको हो। 

कम्पनीले यस वर्षको दशैंका लागि २ हजार खसी बोका काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजारवटा खसी बोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसी बोका मात्रै बिक्री वितरण गर्न लागेको हो ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी बोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर, यस वर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्यधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा बिक्री वितरण नगर्ने बताएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी सूचना अधिकृत शर्मिला न्यौपानेले घटस्थापनाको भोलिपल्ट देखि अर्थात् असोज २२ गतेदेखि राजधानीमा खसिबोका बिक्री वितरण सुरु गर्ने जानकारी दिइन् । 

कम्पनीले दाङको तुलसीपुरबाट ८ सय वटा र हेटौडाबाट १२ सय वटा खसी बोका ल्याउने तयारी गरेको पनि उनले जानकारी दिइन् । कम्पनीले विगतमा निजी क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रति किलो १० रुपैयाँ मूल्य घटाएर खसी बोका बिक्री गर्ने सूचना अधिकृत न्यौपानेले जानकारी दिइन् ।

कम्पनीले माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमा झैँ यस पटक पनि खसी बोका बिक्री गर्न लागेको बताएको छ । दशैंका बेला काठमाडौं उपत्यकामा खसी बोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ।

चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट दैनिक उपभोग्य खाद्य सामग्रीहरूमा ५ देखि १० रुपैयाँसम्म छुट दिएर बिक्री वितरण गरिरहेको छ ।